मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

दुर्घटनामा घाइतेको मृत्यु देखाउन हत्या गरेको आरोपमा बर्दियामा युवक पक्राउ

मंगलबार, साउन १९ २०८३

बर्दिया । दुर्घटनामा घाइते भएका व्यक्तिको उपचारमा धेरै खर्च लाग्ने भएपछि हत्या गरी दुर्घटनाका कारण मृत्यु भएको देखाउन खोजेको आरोपमा प्रहरीले बर्दियामा एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका–७ कालीगौडीका २० वर्षीय गोविन्द जैसी रहेका छन्। जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार जैसीलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ।

ठाकुरबाबा नगरपालिका–९ बेतहनीका २७ वर्षीय आसाराम थारुको शव गत आइतबार कुशलपटुवा क्षेत्रस्थित सिँचाइ नालामा घोप्टो अवस्थामा फेला परेको थियो।

प्रहरीका अनुसार गत शुक्रबार बिहान करिब २ बजे हात्तीसारतर्फ जाँदै गरेको लु.प्र.००१–०१२ प ०८२५ नम्बरको मोटरसाइकल दुर्घटना भएको सूचना प्राप्त भएको थियो। दुर्घटनामा जैसी घाइते भएको र मोटरसाइकल चालक सम्पर्कविहीन रहेको प्रारम्भिक जानकारी प्रहरीलाई आएको थियो।

अनुसन्धानका क्रममा दुर्घटनास्थलमा बेवारिसे अवस्थामा मोटरसाइकल फेला परेको थियो। उक्त मोटरसाइकल घाइते जैसीको नाममा रहेको खुलेपछि प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको थियो। जैसीले दिएको शंकास्पद बयानपछि अनुसन्धान थप गहिराइमा पुग्दा घटना दुर्घटना नभई हत्या भएको खुलेको प्रहरीले जनाएको छ।

प्रहरी अनुसन्धानअनुसार साउन १४ गते बेलुकी थारु काम गर्ने ग्यारेजमा अबेरसम्म मदिरा सेवन गरेका थिए। त्यसपछि घरमा खाना खाएर एक जना साथीलाई मडेला पुर्‍याई फर्किने क्रममा जैसीले चलाएको मोटरसाइकल दुर्घटना भएको थियो। दुर्घटनामा थारु घाइते भएका थिए।

घाइते थारुको उपचार गर्दा धेरै खर्च लाग्ने र घटनाको वास्तविकता बाहिरिने डरले जैसीले उनलाई हत्या गरी दुर्घटनामा मृत्यु भएको देखाउने योजना बनाएको प्रहरीको दाबी छ।

अनुसन्धानका क्रममा जैसीले दुर्घटनास्थलनजिकै निर्माणाधीन घरको सटरिङमा प्रयोग गरिएको काठले थारुको छातीमा प्रहार गरेको, मोटरसाइकलको चाबीले मुखमा प्रहार गरेको तथा थारुले लगाएको मालाले घाँटी कसी हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।