सर्लाही । सर्लाही प्रहरीले १०९ किलोग्राम गाँजासहित भारतीय नम्बर प्लेटको कार र दुई जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार बिहान करिब ५ः३० बजे लालबन्दी नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर अगाडि संयुक्त चेकजाँच गरिएको थियो ।
भारततर्फ जाँदै गरेको बीआर ०९ एम ३७६६ नम्बरको भारतीय कार रोकेर जाँच गर्ने क्रममा कारको डिक्कीमा लुकाइछिपाइ राखिएको २३ वटा पोकामा प्याक गरिएको करिब १०९ किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
गाँजासहित पक्राउ पर्नेमा भारतको बिहार राज्य, सीतामढी जिल्ला, समुद्र थाना क्षेत्रका २६ वर्षीय दिपक कुमार महतो र सोही कारमा सवार २५ वर्षीय अमन कुमार रहेका छन् ।
प्रहरीले गाँजा, कार तथा दुवै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।