मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

मधेसमा लागूऔषधविरुद्ध प्रहरीको कडाइ, तीन वर्षमा २,८११ पक्राउ

आइतबार, साउन १० २०८३

जनकपुरधाम । मधेस प्रदेशमा लागूऔषध नियन्त्रणका लागि प्रहरीले विशेष अभियान सञ्चालन गरेपछि पछिल्ला तीन आर्थिक वर्षमा लागूऔषध सेवन तथा कारोबारमा संलग्न २ हजार ८११ जना पक्राउ परेका छन्। सो अवधिमा २ हजार १२१ वटा लागूऔषधसम्बन्धी मुद्दा दर्ता भएका छन्।

मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा २ हजार ५५४ नेपाली, २५३ भारतीय र एक विदेशी नागरिक रहेका छन्। प्रदेशका आठवटै जिल्लामा नियमित चेकजाँच र निगरानी बढाइएपछि गाँजा, चरेस, अफिम, ब्राउन सुगर, हिरोइनलगायत लागूऔषधको कारोबारमा संलग्न व्यक्तिहरूमाथि कारबाही तीव्र पारिएको प्रहरीले जनाएको छ।

गत आर्थिक वर्षमा ८७१ पक्राउ

प्रहरीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा मात्रै ८७१ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ७८६ नेपाली, ८४ भारतीय र एक विदेशी नागरिक रहेका छन्। सो अवधिमा ६३० वटा लागूऔषधसम्बन्धी मुद्दा दर्ता भएका छन्।

उक्त अवधिमा प्रहरीले १५ हजार ३८२ किलोग्राम गाँजा, ५१६ ग्राम ब्राउन सुगर, २७२ किलोग्राम चरेस, तीन किलोग्राम अफिम, दुई हजार ८३१ ग्राम हिरोइन, चार लाख ७३ हजार ४८५ ट्याब्लेट, दुई हजार ११८ बोतल सिरफ र १८ हजार १२५ इन्जेक्सन बरामद गरेको जनाएको छ।

अघिल्ला वर्षहरूमा पनि ठूलो परिमाणमा बरामद

आर्थिक वर्ष २०८१/८२ मा ८३६ जना पक्राउ परेका थिए भने ५८५ वटा मुद्दा दर्ता भएका थिए। त्यस अवधिमा १६ हजार ५७३ किलोग्राम गाँजा, ५०५ किलोग्राम चरेस, ४५ किलोग्राम अफिम, ६१ ग्राम ब्राउन सुगर, दुई हजार ७०५ ग्राम हिरोइन, तीन लाख ७० हजार ४४२ ट्याब्लेट, सात हजार ५०४ सिरफ र ६१ हजार ३३३ इन्जेक्सन बरामद गरिएको थियो।

यस्तै, आर्थिक वर्ष २०८०/८१ मा एक हजार १०४ जना पक्राउ परेका थिए भने ७९७ वटा मुद्दा दर्ता भएका थिए। सो अवधिमा आठ हजार ५३९ किलोग्राम गाँजा, ५९४ ग्राम ब्राउन सुगर, १२१ किलो १४६ ग्राम चरेस, एक ग्राम अफिम, एक हजार १३१ ग्राम ७ हजार १११ मिलिग्राम हिरोइन, ४९ हजार ८८८ ट्याब्लेट, तीन हजार ४१६ सिरफ र ५४ हजार ४०४ इन्जेक्सन बरामद भएको प्रहरीले जनाएको छ।

सीमा नाकाबाट बढ्दो चुनौती

मधेस प्रदेश प्रहरीका अनुसार खुला नेपाल–भारत सीमाको फाइदा उठाउँदै सीमावर्ती भारतीय बजारबाट लागूऔषध नेपाल भित्र्याउने प्रवृत्ति बढ्दो छ। सीमा नाकामा कडाइ गरिएसँगै ओहोरदोहोर गर्ने धेरै युवाको साथबाट लागूऔषध बरामद हुने गरेको मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीले बताए।

उनका अनुसार लागूऔषध सेवन तथा कारोबारमा पक्राउ पर्ने अधिकांश २० देखि ३० वर्ष उमेर समूहका युवा छन्। पढाइ छाडेका, बेरोजगार तथा गलत संगतमा परेका युवाहरू लागूऔषध दुव्र्यसनमा फस्ने गरेको उनले बताए।

डीआईजी अधिकारीले पछिल्लो समय युवा मात्र नभई बालबालिका, किशोरकिशोरी र महिलासमेत लागूऔषधको कुलतमा फस्न थालेको उल्लेख गर्दै यसबाट जोगिन अभिभावक, विद्यालय, शिक्षक र परिवार सबैको सचेत भूमिका आवश्यक रहेको बताए ।