मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

प्रवासी नेपालीलाई मातृभूमिमा लगानी गर्न अर्थमन्त्री वाग्लेको आग्रह

आइतबार, साउन १० २०८३

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासी नेपालीलाई नेपालको आर्थिक विकासमा साझेदार बन्न र मातृभूमिको विकासका लागि लगानी गर्न आग्रह गरेका छन् ।

शनिबार अस्ट्रेलियामा रहेका नेपाली युवा उद्यमीसँग भर्चुअल छलफल गर्दै अर्थमन्त्री वाग्लेले सरकारको ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने अवधारणाप्रति विश्वस्त रहन आग्रह गर्नुभएको उनको निजी सचिवालयले जनाएको छ।

उनले प्रवासी नेपालीलाई नेपालको सद्भावनादूतको संज्ञा दिँदै मातृभूमिप्रतिको आफ्नो दायित्व निर्वाह गर्न आह्वान गरे। वर्तमान सरकार देशको आर्थिक पुनरुत्थान र विकासमा केन्द्रित रहेकाले त्यस अभियानमा प्रवासमा रहेका नेपालीको साथ र सहयोग आवश्यक रहेको उनले बताए ।

अर्थमन्त्री वाग्लेले चालु बजेटमार्फत अर्थतन्त्रको पुनरुत्थानका लागि कर, राजस्व तथा उद्योगमैत्री नीतिहरू कार्यान्वयनमा ल्याइएको उल्लेख गर्दै नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गरे। लगानीकर्ताले आफ्नो लगानीको प्रतिफल सहज रूपमा विदेश लैजान सक्ने व्यवस्था गरिएको पनि उनले स्पष्ट पारे।

उनले सरकारद्वारा अघि सारिएका एनआरएनए बन्ड, अफसोर बन्ड तथा वैकल्पिक वित्त परिचालन जस्ता रूपान्तरणकारी अवधारणाहरू प्रवासी नेपालीको लगानी विस्तार गर्ने उद्देश्यले ल्याइएको बताउँदै नेपालमा लगानीका अवसरहरूको लाभ उठाउन आग्रह गरे ।