मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

लागुऔषधविरुद्ध प्रहरी कारबाही, १७० किलो गाँजा र ब्राउन सुगर बरामद

आइतबार, साउन १० २०८३

काठमाडौं । नेपाल प्रहरीले काठमाडौं, पर्सा र मोरङमा सञ्चालन गरेको छुट्टाछुट्टै कारबाहीमा १७० किलो गाँजा र ब्राउन सुगर बरामद गरेको छ। घटनामा तीन जना पक्राउ परेका छन् भने ठूलो परिमाणमा गाँजा बेवारिसे अवस्थामा समेत फेला परेको छ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–३ हैबुङ घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोट बस्ने २६ वर्षीय अवतार सिंह तामाङ र सुन्दरीजलका ५४ वर्षीय अम्बक तामाङ रहेका छन्।

प्रहरीका अनुसार शनिबार राति करिब १ बजे बा ८३ प ४३७७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूको साथबाट ३० किलो गाँजा बरामद गरिएको हो। दुवैलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धको हिरासतमा राखिएको छ।

यस्तै, पर्साको छिपरमाई गाउँपालिका–१ मिर्जापुरस्थित एक बगैंचाबाट शनिबार राति करिब ९ बजे १४० किलो गाँजा बेवारिसे अवस्थामा बरामद गरिएको छ। उक्त गाँजा कसले राखेको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

यसैगरी, मोरङको कानेपोखरी गाउँपालिका–२ देउलिया खोला नजिकबाट ६ ग्राम ३८० मिलिग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा बेलबारी नगरपालिका–११ निवासी रणध्वज राई रहेका छन्।

प्रहरीका अनुसार रंगेलीबाट कानेपोखरीतर्फ आउँदै गरेको प्रदेश १–०२–०४४ प ११८ नम्बरको मोटरसाइकलमा सवार राईको साथबाट लागुऔषध बरामद गरिएको हो। उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पथरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।