काठमाडौं । नेपालका लागि फिलिपिन्सका अवैतनिक महावाणिज्यदूत तथा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष सुरज वैद्य अनररी कन्सुलर कर्प्स नेपाल (एचसीसीएन) को डिनमा सर्वसम्मत निर्वाचित भएका छन्।
बिहीबार काठमाडौंमा सम्पन्न एचसीसीएनको साधारणसभाले वैद्यलाई नयाँ डिनका रूपमा चयन गरेको हो। यसअघि नेपालका लागि बुल्गेरियाका अवैतनिक महावाणिज्यदूत भोला विक्रम थापा डिन थिए। सभाले पासाङ दावा शेर्पालाई भाइस डिनमा पनि सर्वसम्मत चयन गरेको छ।
निर्वाचनपछि वैद्यले आफ्नो कार्यकालमा नेपालमा वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) भित्र्याउने, पर्यटन प्रवर्द्धन गर्ने र आर्थिक कूटनीतिलाई थप प्रभावकारी बनाउने विषयलाई प्रमुख प्राथमिकतामा राख्ने बताएका छन्। उनले नेपाल र अन्तर्राष्ट्रिय समुदायबीचको आर्थिक सहकार्य विस्तार गर्न एचसीसीएनलाई सक्रिय रूपमा परिचालन गर्ने प्रतिबद्धता जनाए।
उनका अनुसार एचसीसीएनले हाल विश्वका ६४ भन्दा बढी मुलुकको प्रतिनिधित्व गरिरहेको छ। ती देशहरूसँगको सम्बन्धलाई लगानी, व्यापार, प्रविधि, नवप्रवर्तन र पर्यटनका क्षेत्रमा उपयोग गर्न सके नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास उनले व्यक्त गरे।
वैद्यले वर्तमान अवस्थामा नेपालले लगानी आकर्षित गर्ने, रोजगारी सिर्जना गर्ने, पर्यटन विस्तार गर्ने र अन्तर्राष्ट्रिय व्यापार बढाउने लक्ष्य लिएकाले आर्थिक कूटनीतिको भूमिका अझ महत्वपूर्ण बनेको उल्लेख गरे। उनले मानार्थ वाणिज्यदूतहरूले सरकारबीच मात्र होइन, निजी क्षेत्र, लगानीकर्ता, उद्यमी, शैक्षिक संस्था र समुदायबीच सहकार्यको सेतुका रूपमा काम गर्न सक्ने बताए।
कार्यक्रमका प्रमुख वक्ता परराष्ट्र मामिला विश्लेषक तथा नेपाली सेनाका पूर्वमेजर जनरल बिनोज बस्न्यातले बदलिँदो विश्व राजनीतिक परिवेशलाई नेपालले अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए। उनले स्पष्ट विदेश नीति, सक्रिय आर्थिक कूटनीति, संस्थागत सुधार र रणनीतिक सोचमार्फत राष्ट्रिय हित प्रवर्द्धन गर्नुपर्ने धारणा राखे।
बस्न्यातले नेपालसँग रहेका दूतावास, स्थायी नियोग, महावाणिज्यदूतावास तथा अवैतनिक महावाणिज्यदूतहरूको सञ्जाललाई विदेशी लगानी, प्रविधि हस्तान्तरण, ज्ञान आदानप्रदान र विकास साझेदारी विस्तारका लागि प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने बताए।
एचसीसीएनका निवर्तमान डिन भोला विक्रम थापाले संस्थालाई आर्थिक कूटनीतिमा सरकारको रणनीतिक साझेदार बनाउने उद्देश्यसहित परराष्ट्र मन्त्रालयमा समझदारीपत्र (एमओयू) को मस्यौदा पेस गरिएको जानकारी दिए। उनले ६४ देशको सञ्जालमार्फत विदेशी लगानी, व्यापार, पर्यटन, प्रविधि हस्तान्तरण र कनेक्टिभिटी प्रवर्द्धनमा एचसीसीएनले महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरे।
थापाले राहदानी विभागमा सेवाग्राहीको लाइन व्यवस्थापन प्रणाली सुधारका लागि पनि प्रस्ताव पेस गरिएको र आवश्यक स्वीकृतिपछि त्यसलाई कार्यान्वयनमा ल्याइने बताए।