मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

चार लाख भारतीय रुपैयाँसहित एक जना पक्राउ

बिहिबार, साउन ७ २०८३

नेपालगञ्ज । बाँके प्रहरीले चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अङ्गुर जिसीका अनुसार नेपालगञ्ज बसपार्क क्षेत्रस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार पक्राउ गरिएको हो।

बसपार्क क्षेत्रमा अवैध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा ८०० थान भारतीय ५०० दरका नोट बरामद गरेको जनाएको छ। उक्त रकम चार लाख भारतीय रुपैयाँ बराबर हुने प्रहरीले बताएको छ।

“लुकाएर राखिएको अवस्थामा भारतीय नोट फेला परेपछि राउतलाई नियन्त्रणमा लिइएको हो,” प्रहरी उपरीक्षक जिसीले बताए।

प्रहरीका अनुसार भारतीय ५०० दरका नोटको कारोबार नेपालमा प्रतिबन्धित भएकाले नेपाल राष्ट्र बैंक ऐनअन्तर्गत आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ।

प्रहरी उपरीक्षक जिसीले बसपार्क क्षेत्रका होटल तथा लजमा अवैध गतिविधि हुने गरेको गुनासो प्राप्त भइरहेकाले निगरानी बढाइएको पनि जानकारी दिए।

यता, न्यू लक्ष्मी होटेल एण्ड लजका सञ्चालक धर्मराज बस्नेतले भने बरामद रकम अवैध कारोबारका लागि नभएको दाबी गरेका छन्। उनका अनुसार जाजरकोटाबाट आएका छ जना ठेकेदारको जिम्मामा रहेका करिब ५० जना श्रमिकलाई भारतीय रुपैयाँ आवश्यक परेकाले रकम सङ्कलन गरी सटहीका लागि कर्मचारी राउतलाई पठाइएको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।