काठमाडौं भदौ, ३०– पछिल्लो समय आफ्ना नेता कार्यकर्ता धमाधम पक्राउ पर्ने र अन्य पार्टीमा प्रवेश गर्ने क्रम बढेपछि प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रणनीति बदल्न लागिपरेको छ ।
हालसम्म विप्लव निकट ८ सय बढी नेता कार्यकर्ता पक्राउ परिसकेका छन् भने सय बढी नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । राजधानी दैनिकले खबर छापेको छ ।
सरकारले आफ्ना नेता कार्यकर्ता धमाधम पक्राउ गर्ने र गलाएर पार्टीसमेत छाड्ने परिस्थितिमा पु(याएपछि चन्द नेतृत्वको नेकपाले रणनीति बदल्दै वार्ताका लागि सकारात्मक हुने संकेत गरेको हो ।
प्रतिबन्धपछि भूमिगत शैलीमा आफ्ना गतिविधि सञ्चालन गर्दै आएको ‘विप्लव’ समूहले पार्टी छाडेकालाई धमाधम कारबाही गर्दै रक्षात्मक रूपमा गतिविधि सञ्चालन गर्दै आएको छ ।
विप्लव नेतृत्वको नेकपाका उच्च तहका एक नेताले पार्टीभित्र वार्ताका लागि छलफल भइरहेको र सरकार नै पहिले सकारात्मक हुनुपर्ने बताए । ‘वार्ता नै नगर्ने भन्ने त होइन, पार्टीभित्र छलफल भइरहेका छन् । सरकार वार्ताका लागि सकारात्मक रूपमा तयार भए हुन सक्छ,’ ती नेताले भने ।
महासचिव विप्लवले समेत केही दिनअघि एक अन्तर्वार्ताका क्रममा आफू वार्ताको निरपेक्ष विरोधी नभएको बताएका थिए । तर, सरकारले विगतमा वार्ताको हल्ला मात्रै फिँजाएको र सरकारतर्फकै केही व्यक्ति अहिले पनि वार्ता विरोधी रहेको उनले भनेका छन् ।
‘जनताका एजेन्डामा बहस गर्न हामी सधैं खुला छौं तर वार्ता देश र जनताका विषयमा केन्द्रित हुनुपर्दछ,’ विप्लवले भनेका छन् ।
उनले क्रान्तिकारीहरूलाई भ्रमित पार्न वार्ता र कूटनीतिको कुरा गर्ने अनि भित्र दमन गरेर सक्ने रणनीतिसमेत हुने विषयमा भने अत्यन्तै गम्भीर भएको भनेका छन् ।
प्रहरीले आइतबारसम्म नेकपाका ८ सय १८ जना नेता कार्यकर्तालाई प्रतिबन्धयता पक्राउ गरिसकेको छ । यस्तै, यसबीचमा ७ सय ५६ वटा मुद्दा प्रहरीले दर्ता गरेको छ भने ५८६ जना मुद्दा दर्ता भई छुटेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यसैबीचमा ५५ जना साधारण सोधपुछ पछि छुटेका छन् । यसैगरी, १ सय ५५ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् भने ५२ जना अनुसन्धानकै क्रममा छन् ।
यसबीचमा करिब ७० बढी विप्लव निकट नेता कार्यकर्ता सत्तारूढ र अन्य पार्टीमा प्रवेश गरिसकेका छन् । यसैगरी, करिब २५ जना नेता कार्यकर्ताले विज्ञप्ति निकालेरै स्वतन्त्र रूपमा रहेको जनाएका छन् भने केहीले भने प्रहरीले पक्राउ गरेपछि आत्मसमर्पण गरेका छन् ।