काठमाडौँ । युरोपेली च्याम्पियन स्पेनले साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। स्पेनले १६ वर्षपछि विश्व फुटबलको सर्वोच्च ट्रफी आफ्नो नाममा लेखाउन सफल भएको हो। यसअघि उसले सन् २०१० मा विश्वकप जितेको थियो।
अमेरिकाको न्युजर्सीस्थित स्टेडियममा आइतबार सम्पन्न रोमाञ्चक फाइनलमा निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो।
खेलको १०६औँ मिनेटमा स्पेनका फेर्रान टोरेजले निर्णायक गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए। त्यसपछि अर्जेन्टिनाले बराबरीको प्रयास गरे पनि सफल हुन नसक्दा स्पेनले ऐतिहासिक जित दर्ता गर्दै विश्वकपको उपाधि उचाल्यो।
अर्जेन्टिनाका एन्जो फर्नान्डेजले निर्धारित समयमै दोहोरो पहेँलो कार्ड पाएपछि रातो कार्डसहित मैदान छाड्नुपरेको थियो। त्यसपछि १० खेलाडीमा सीमित बनेको अर्जेन्टिनामाथि स्पेनले दबाब बढाउँदै गोल निकाल्न सफल भएको थियो।
फाइनल पुग्ने क्रममा अर्जेन्टिनाले सेमिफाइनलमा इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गरेको थियो भने स्पेनले फ्रान्सलाई २–० ले हराउँदै उपाधि भिडन्तमा स्थान बनाएको थियो।
यस जितसँगै स्पेनले दोस्रो पटक विश्वकपको उपाधि जित्दै विश्व फुटबलमा आफ्नो प्रभुत्व पुनः स्थापित गरेको छ भने अर्जेन्टिनाको लगातार दोस्रो विश्वकप जित्ने सपना अधुरै बनेको छ।