बैंकले कमायो ८९ करोड ४१ लाख रुपैंयाँ खुद मुनाफा
आर्थिक वर्ष २०८२/०८३ मा कामना सेवा बिकास बैंकले आफ्नो वित्तीय प्रदर्शनमा उल्लेखनीय सुधार गर्दै ८९ करोड ४१ लाख ७८ हजार एक सय २६ रुपैंयाँ खुद मुनाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब २२ करोड ४४ लाख अर्थात् झण्डै ३३ दशमलव पाँच प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद मुनाफा ६६ करोड ९७ लाख ५१ हजार तीन सय २३ रुपैंयाँ रहेको थियो ।
बैंकको चुक्ता पुँजी चार अर्ब २१ करोड १९ लाख ३० हजार आठ सय १५ रुपैंयाँ रहेको छ । समीक्षा अवधिमा बैंकले ६६ अर्ब १७ करोड ७५ लाख २४ हजार छ सय ३९ रुपैंयाँ निक्षेप संकलन गरी ५४ अर्ब २१ करोड १ लाख ७० हजार नौं सय ८९ रुपैंयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी दुई अर्ब ४१ करोड आठ लाख दुई हजार नौं सय १४ रुपैंयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको दुई अर्ब ३१ करोड ८४ लाख ९४ हजार एक सय ६५ को तुलनामा बढी हो । बैंकको निष्क्रिय कर्जा (एनपीएल) भने केही बढेको देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा तीन दशमलव ४९ प्रतिशत रहेको निष्क्रिय कर्जा चालु आर्थिक वर्षमा बढेर तीन दशमलव ७७ प्रतिशत पुगेको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ६२ अर्ब ८३ करोड ४३ लाख एक हजार एक सय ६४ रुपैयाँ निक्षेप संकलन गरी ५० अर्ब सात करोड ७४ लाख ९७ हजार दुई सय ७७ रुपैंयाँ कर्जा प्रवाह गरेको थियो ।