मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

गाेलकाे वर्षा गर्दै इंग्ल्यान्ड विश्वकप २०२६ को तेस्रो

आइतबार, साउन ३ २०८३

काठमाडौं । फ्रान्सलाई ६–४ ले पराजित गर्दै इंग्ल्यान्ड फिफा विश्वकप २०२६ मा तेस्रो स्थान हासिल गर्न सफल भएको छ। आइतबार बिहान मियामी स्टेडियममा सम्पन्न रोमाञ्चक प्रतिस्पर्धामा बुकायो साकाको ह्याट्रिक प्रेरणामा इंग्ल्यान्डले प्रभावशाली जित दर्ता गरेको हो।

इंग्ल्यान्डले खेलको तेस्रो मिनेटमै डेक्लान राइसको गोलबाट अग्रता लिएको थियो। त्यसपछि १८औँ मिनेटमा एज्री कोन्साले हेडमार्फत गोल गर्दै अग्रता दोब्बर बनाए। पहिलो हाफको ३७औँ मिनेट र इन्जुरी समयमा बुकायो साकाले दुई गोल थपेपछि इंग्ल्यान्ड ४–० को आरामदायी अग्रतासहित विश्राममा गएको थियो।

दोस्रो हाफमा भने फ्रान्सले उत्कृष्ट पुनरागमनको प्रयास गर्‍यो। कप्तान किलियन एमबाप्पेले ४८औँ मिनेटमा पहिलो गोल फर्काए भने त्यसपछि ब्राड्ली बार्कोला र पुनः एमबाप्पेको गोलसँगै खेल ४–३ को रोमाञ्चक अवस्थामा पुगेको थियो।

तर खेलको ८७औँ मिनेटमा मालो गुस्टोले डिजेड स्पेन्सलाई पेनाल्टी क्षेत्रमा लडाएपछि इंग्ल्यान्डले पेनाल्टी पायो। साकाले त्यसलाई गोलमा परिणत गर्दै ह्याट्रिक पूरा गरे र टोलीलाई पुनः दुई गोलको अग्रता दिलाए। अन्त्यतिर उस्मान डेम्बेलेले फ्रान्सका लागि अर्को गोल गरे पनि जुड बेलिङ्घमले इंग्ल्यान्डका लागि छैटौँ गोल थप्दै ६–४ को जित सुनिश्चित गरे।

सेमिफाइनलमा स्पेनसँग पराजित भएको फ्रान्स र अर्जेन्टिनासँग अन्तिम समयमा गोल खाँदै फाइनल यात्रा टुंगिएको इंग्ल्यान्ड तेस्रो स्थानका लागि आमनेसामने भएका थिए।

मियामीको अत्यधिक गर्मीका कारण दुवै टोलीका प्रशिक्षकले सुरुआती टोलीमा व्यापक परिवर्तन गरेका थिए। इंग्ल्यान्डका प्रशिक्षक थोमस टुचेलले कप्तान ह्यारी केन र जुड बेलिङ्घमलाई सुरुआती रोजाइमा नराख्दा फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पसले पनि उस्मान डेम्बेले र ब्राड्ली बार्कोलालाई बेन्चबाट खेल सुरु गराएका थिए।

यस जितसँगै सन् १९६६ मा विश्वकप जितेयताको इंग्ल्यान्डको यो उत्कृष्ट नतिजा बनेको छ। उता, फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पसको बिदाइ भने सुखद हुन सकेन।

अब विश्वकप २०२६ को उपाधिका लागि सोमबार बिहान अमेरिकाको न्युजर्सीस्थित इस्ट रदरफोर्डमा अर्जेन्टिना र स्पेनबीच बहुप्रतीक्षित फाइनल खेल हुनेछ।