काठमाडौं । साउन महिना सुरु भएसँगै काठमाडौंका प्रमुख बजारमा हरियो चुरा, पहेँलो पोते र मेहन्दीको व्यापार उल्लेखनीय रूपमा बढेको छ। साउनलाई भगवान् शिवको विशेष आराधनाको महिना मानिने भएकाले महिलाले हरियो चुरा, पोते र मेहन्दी लगाउने परम्पराले बजारमा चहलपहल बढाएको हो।
राजधानीका असन, इन्द्रचोक, बागबजारलगायत बजारमा हरियो चुरा र पोते किन्न आउने ग्राहकको भीड बढेको व्यवसायीहरू बताउँछन्। इन्द्रचोकका व्यवसायी अहमद मुसलमानका अनुसार अन्य समयमा दैनिक ८ देखि १० हजार रुपैयाँसम्म हुने कारोबार साउन सुरु भएसँगै दैनिक २० देखि २५ हजार रुपैयाँसम्म पुगेको छ।
सोही क्षेत्रका अर्का व्यवसायी हसन अन्सारीले पनि साउन लागेसँगै ग्राहकको संख्या उल्लेख्य रूपमा बढेको बताए। उनका अनुसार विवाहको मौसमबाहेक अहिले साउनका कारण पनि चुरापोतेको माग उच्च बनेको छ।
बजारमा स्वदेशी तथा आयातित दुवै प्रकारका हरियो चुरा, पोते र नयाँ डिजाइनका सामग्री बिक्रीका लागि राखिएका छन्। चुरापोतेसँगै ब्युटी पार्लर तथा सडक किनारमा मेहन्दी लगाउने महिलाको पनि उल्लेख्य भीड देखिएको छ।
गोङ्गबुबाट इन्द्रचोक चुरा किन्न आएकी सरस्वती दवाडीले साउनमा हरियो चुरा र पोते लगाउँदा धार्मिक आस्था मात्र नभई सांस्कृतिक परम्पराको संरक्षण हुने विश्वास व्यक्त गरिन्।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका निवर्तमान कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीका अनुसार साउन महिनामा माता पार्वतीले भगवान् शिवलाई प्रसन्न पार्न हरियो चुरा, पहेँलो पोते र मेहन्दी धारण गरेको धार्मिक विश्वासका आधारमा यो परम्परा चल्दै आएको हो।
उनका अनुसार साउन हरियालीको महिना भएकाले हरियो चुरा र पोतेले प्रकृतिसँगको सम्बन्ध र सांस्कृतिक प्रतीकलाई पनि झल्काउँछ। तीज पर्व नजिकिँदै जाँदा हरियो चुरा, पोते र मेहन्दीको माग अझ बढ्ने अपेक्षा गरिएको छ।