मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

रासायनिक मल ५.६१ लाख मेट्रिकटन भित्रियो

शुक्रबार, साउन १ २०८३

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२/८३ को असार २४ गतेसम्म पाँच लाख ६१ हजार ४९३ दशमलव ८५ मेट्रिकटन रासायनिक मल आपूर्ति गरेको जनाएको छ। यो वार्षिक छ लाख मेट्रिकटन आपूर्तिको लक्ष्यको करिब ९४ प्रतिशत हो।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत आर्थिक वर्षका लागि रासायनिक मल खरिद तथा आपूर्तिका लागि २८ अर्ब ८२ करोड १४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। असार २४ गतेसम्म चार लाख ९१ हजार ३०० मेट्रिकटन रासायनिक मल खरिदका लागि टेन्डर प्रक्रिया सम्पन्न भइसकेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हालसम्म दुई कम्पनीमार्फत तीन लाख २७ हजार ५७९ दशमलव ८० मेट्रिकटन युरिया, दुई लाख तीन हजार ४२६ दशमलव ३० मेट्रिकटन डीएपी तथा ३० हजार ४८७ दशमलव ७५ मेट्रिकटन पोटास गरी कुल पाँच लाख ६१ हजार ४९३ दशमलव ८५ मेट्रिकटन रासायनिक मल देशभर आपूर्ति गरिएको छ।

असार २४ गतेसम्म देशभरका गोदाममा ९२ हजार ५९२ दशमलव ३५ मेट्रिकटन रासायनिक मल मौज्दात रहेको मन्त्रालयले जनाएको छ। मौज्दातमध्ये ४९ हजार १०४ दशमलव ३० मेट्रिकटन युरिया, २४ हजार १२ दशमलव ८५ मेट्रिकटन डीएपी र १९ हजार ४७५ दशमलव २० मेट्रिकटन पोटास रहेको छ।

अघिल्लो आर्थिक वर्षको मौज्दातसमेत समावेश गर्दा असार २४ गतेसम्म पाँच लाख १८ हजार २७८ दशमलव ५५ मेट्रिकटन रासायनिक मल बिक्री भएको छ। यसमा तीन लाख सात हजार १६ दशमलव ६० मेट्रिकटन युरिया, एक लाख ९२ हजार ९३१ दशमलव १५ मेट्रिकटन डीएपी तथा १८ हजार ३३० दशमलव ८० मेट्रिकटन पोटास बिक्री भएको मन्त्रालयले जनाएको छ।

यस्तै, हाल २८८ दशमलव ७५ मेट्रिकटन रासायनिक मल ढुवानीको क्रममा रहेको छ, जसमा ८६ दशमलव ०५ मेट्रिकटन युरिया र २०२ दशमलव ७० मेट्रिकटन डीएपी रहेको मन्त्रालयले जनाएको छ।