काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष डा. गोपालप्रसाद भट्टले पुँजीबजार सुधारका लागि ‘क्यापिटल मार्केट टास्क फोर्स’ गठन गरिने र छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिने बताएका छन् ।
बुधबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकमा बोल्दै अध्यक्ष भट्टले बजारको संरचनागत सुधारलाई अगाडि बढाउन बोर्डले आर्थिक वर्ष २०८३/८४ को पुँजीबजार नीतिमार्फत ‘क्यापिटल मार्केट टास्क फोर्स’ गठन गर्ने व्यवस्था गरेको जानकारी दिए ।
उनका अनुसार उक्त टास्क फोर्समा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से), सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी), मर्चेन्ट बैंकर एसोसिएसन, स्टक ब्रोकर एसोसिएसन अफ नेपाल, क्रेडिट रेटिङ संस्था तथा विशिष्टीकृत कोष व्यवस्थापकका प्रतिनिधि रहनेछन्। यसमार्फत पुँजीबजार सुधारका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाइने उनले बताए ।
अध्यक्ष भट्टले पछिल्लो समय पुँजीबजारको दायरा फराकिलो बन्दै गएको र लगानीकर्ताको संख्या उल्लेख्य रूपमा बढेकाले बोर्डको आन्तरिक संरचना, कानुनी दायरा र नियामकीय क्षमतालाई थप सुदृढ बनाउन टास्क फोर्सले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
उनले नेपालमा सेयर बजार सधैं बढिरहनुपर्छ भन्ने धारणा व्यावहारिक नभएको उल्लेख गर्दै कुनै पनि देशको पुँजीबजार निरन्तर उकालो मात्रै लाग्न नसक्ने बताए। धितोपत्र बोर्डको भूमिका बजार बढाउने वा घटाउने नभई निष्पक्ष, पारदर्शी र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने रहेको उनको भनाइ थियो।
अध्यक्ष भट्टले छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिने जानकारी दिँदै यसबाट बजार बढ्दा मात्र नभई घट्दा पनि लगानीकर्ताले प्रतिफल लिन सक्ने बताए। उनका अनुसार बजार घट्ने अनुमान गर्ने लगानीकर्ताले अरूबाट सेयर सापटी लिएर बिक्री गर्न सक्नेछन् र पछि मूल्य घटेपछि त्यही सेयर खरिद गरेर फिर्ता गर्दा मूल्य अन्तरबाट नाफा आर्जन गर्न सक्नेछन्। बजार बढ्ने अपेक्षा गर्ने लगानीकर्ताले भने हालको व्यवस्थाअनुसार सेयर खरिद गरी मूल्य बढेपछि बिक्री गरेर प्रतिफल लिन सक्नेछन्।
यस व्यवस्थाले बजार सधैं बढ्नैपर्छ भन्ने एकतर्फी सोचको अन्त्य हुने र लगानीकर्ताले आफ्नै अध्ययन, विश्लेषण तथा जोखिम मूल्याङ्कनका आधारमा लगानी निर्णय गर्ने वातावरण बन्ने उनले विश्वास व्यक्त गरे ।
अध्यक्ष भट्टले बजारमा फैलिने अफवाह नियन्त्रण गर्न आवश्यक नीतिगत व्यवस्था पनि ल्याइने जानकारी दिए। सम्पत्ति छानबिनलगायत सरकारी अनुसन्धानका कारण लगानीकर्ताको मनोबल कमजोर भएको भन्ने गुनासो आएको उल्लेख गर्दै उहाँले यस्ता विषयमा सम्बन्धित सरकारी निकायसँग आवश्यक समन्वय गरेर काम गरिने बताए ।
उनले नेपालको पुँजीबजारलाई व्यवस्थित, पारदर्शी र आधुनिक बनाउने उद्देश्यका साथ ‘नेपालको पुँजीबजार विकास मार्गचित्र, २०८३’ तथा ‘पुँजीबजार नीति २०८३/८४’ सार्वजनिक गरिएको र सोही नीतिअनुसार सुधारका कार्यक्रम कार्यान्वयन गरिने बताए ।