बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक बस्दै

बुधबार, असार ३१ २०८३

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। दुवै सदनको बैठकमा विभिन्न वार्षिक प्रतिवेदन, विधेयक तथा प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको छ।

दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा राष्ट्रिय मानवअधिकार आयोगको १८औँ वार्षिक प्रतिवेदन (२०८१ साउन–२०८२ असार), राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन पेस गरिनेछ।

उक्त प्रतिवेदनहरू प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सदनमा प्रस्तुत गर्ने कार्यसूची छ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यस्तै युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) का बाध्यकारी श्रम महासन्धि सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ तथा श्रम निरीक्षणसम्बन्धी महासन्धि, १९४७ (नं. ८१) अनुमोदन गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।

यता, दिउँसो १:१५ बजे बस्ने राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यक्रम रहेको छ।