काठमाडौं । नेपाल आयल निगमले बुधबारदेखि साविककै १४.२ किलोग्राम एलपी ग्यास भरिएको सिलिण्डर बजारमा पठाउन ग्यास उद्योगहरूलाई निर्देशन दिएको छ।
निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार इन्डियन आयलका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीबाट एलपी ग्यासको लोडिङ अवस्था सुधार भएपछि पूर्ण तौलको ग्यास सिलिण्डर पुनः वितरण गर्न निर्देशन दिइएको हो।
निगमले १४.२ किलो ग्यास भएको एक सिलिण्डरको मूल्य २,०६० रुपैयाँ कायम गरेको छ।
यसअघि ग्यास आपूर्ति र वितरण प्रणाली सहज बनाउन निगमले गत फागुन २९ गतेदेखि अर्को निर्णय नभएसम्म ७.१ किलो (आधा तौल) ग्यास भरिएका सिलिण्डर बिक्री गर्न निर्देशन दिएको थियो। अब भने आपूर्ति सहज भएसँगै पुनः पूर्ण तौलका सिलिण्डर बजारमा उपलब्ध गराइने भएको छ।