काठमाडौं । नेपाल पर्यटन बोर्डको सञ्चालक समितिमा खुला प्रतिस्पर्धामार्फत पाँच जना नयाँ सञ्चालक सदस्य नियुक्त भएका छन्।
मंगलबार नियुक्त हुने सदस्यमा खुमबहादुर सुवेदी, सन्तोष पोखरेल, श्रीजना केसी, पेम्बा शेर्पा र डा. शोभिता श्रेष्ठ ढकाल रहेका छन्।
पर्यटन ऐन तथा प्रचलित कानुनी व्यवस्थाअनुसार गठित बोर्ड सदस्य छनोट समितिले खुला आवेदनबाट प्राप्त निवेदनको मूल्याङ्कनपछि उनीहरूलाई नियुक्त गरेको हो।
बोर्ड सदस्यका लागि देशभरबाट १,१०० वटा आवेदन परेको थियो। आवेदकहरूको योग्यता, अनुभव, पर्यटन क्षेत्रमा दिएको योगदान, नेतृत्व क्षमता र समग्र दक्षताका आधारमा छनोट गरिएको बोर्डले जनाएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार पर्यटन क्षेत्रको नीति निर्माण, गन्तव्य प्रवर्द्धन, लगानी आकर्षण तथा सार्वजनिक–निजी साझेदारीलाई थप सुदृढ बनाउन खुला र पारदर्शी प्रक्रियाबाट सदस्य चयन गरिएको हो।
नेपाल पर्यटन बोर्डले नवनियुक्त सदस्यहरूको अनुभव र नेतृत्वले नेपालको पर्यटन क्षेत्रको दिगो विकास, अन्तर्राष्ट्रिय प्रवर्द्धन तथा निजी क्षेत्रसँगको सहकार्य विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।