काठमाडौं । बागमती प्रदेश सरकारले आजदेखि पाँच वटा समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्तालाई बचत रकम फिर्ता गर्ने भएको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य रामेश्वर ढकालका अनुसार समस्याग्रस्त घोषित सिभिल, दर्शन, सुमेरु, नेशनल नमोबुद्ध र लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्तालाई अधिकतम रु एक लाखसम्म बचत रकम फिर्ता गर्न लागिएको हो।
यस कार्यक्रमको शुभारम्भ बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज ललितपुरको जावलाखेलस्थित प्रदेश सुशासन केन्द्रको सभाहलमा गर्ने कार्यक्रम रहेको छ। केही दिनअघि मुख्यमन्त्रीको उपस्थितिमा भएको छलफलपछि साना बचतकर्ताको रकम फिर्ता गर्ने निर्णय गरिएको थियो।
समितिका अनुसार असार मसान्तभित्र साना बचतकर्ताको रकम फिर्ता गरिसक्ने लक्ष्य राखिएको छ। बचतकर्ताको विवरण प्रमाणीकरण (भेरिफिकेसन) सम्पन्न भइसकेको छ भने रकम वितरणका लागि करिब रु नौ करोड व्यवस्थापन गरिएको छ।
समितिले सिभिल, सुमेरु, लालीगुराँस र नेशनल नमोबुद्ध सहकारीका बचतकर्तालाई रु एक लाखसम्म तथा दर्शन सहकारीका बचतकर्तालाई रु १० हजारसम्म बचत रकम फिर्ता गर्ने योजना बनाएको छ। यसबाट करिब तीन हजार साना बचतकर्ताले राहत पाउने अपेक्षा गरिएको छ।
यसअघि समितिले गत जेठ २२ गते समस्याग्रस्त घोषित ती सहकारीका ११४ जना ठूला ऋणीको नाम सार्वजनिक गर्दै सहकारीबाट लिएको ऋण तत्काल चुक्ता गर्न आग्रह गरेको थियो।