काठमाडौँ, भदौ २३ । रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा शुल्क अबदेखि ई–सेवामार्फत भुक्तानी गर्न सकिने भएको छ ।
अनलाइनमार्फत बीमाशुल्क भुक्तानी गर्न सकिने सेवाको समझदारीपत्रमा ई–सेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र रिलायन्स लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले हस्ताक्षर गरेका हुुन् ।
सम्झौतासँगै रिलायन्स लाइफमा बीमा गरेका बिमितले आफ्नो नियमित बिमाशुल्क ई–सेवाको मोबाइल एप्स तथा इन्टरनेटबाट सहजै भुक्तानी गर्न सक्नेछन् ।
यस्तै ई–सेवा एकाउन्ट नभएका ग्राहकले ई–सेवाका देशभर रहेका कुनैपनि जोन पोइन्टमार्फत बीमाशुल्क भुक्तानी गर्न सक्नेछन् । यो सेवाबाट रिलायन्स लाइफमा बीमा गरेका व्यक्तिहरू लाभान्वित हुनेछन् ।
ई–सेवा नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो । देशभर ५५ हजारभन्दा बढी एजेन्ट (ई–सेवा जोन तथा पोइन्ट) रहेको ई–सेवाबाट प्रत्यक्ष, अप्रत्यक्षरूपमा करिब ८० लाखभन्दा बढीले सेवा लिइरहेका छन् ।
ई–सेवामा खाता खोल्नेको संख्या २० लाख नाघिसकेको छ । ई–सेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका दुई हजारभन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।
रिलायन्सले मंसिर १, २०७४ बाट आफ्नो व्यावसायिक कारोबार सञ्चालन गरी जीवन बीमासम्बन्धी नवीन सेवाहरू प्रदान गरिरहेको छ ।
साथै कम्पनीले रिलायन्स सुरक्षित जीवन बीमा योजना, रिलायन्स धन फिर्ता योजना, रिलायन्स सुखमय जीवन बीमा योजना, रिलायन्स लाइफ मुद्दती निक्षेप सुरक्षा योजनालगायतका जीवन बीमा योजनाहरू सञ्चालनमा ल्याएको छ ।