शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

अब अदालतले यी ९ थरी सूचना नदिने

सोमबार, भाद्र २३ २०७६

काठमाडौं भदौ, २३– सर्वोच्च अदालत न्याय सम्पादन कार्यमा अति संवेदनशील सूचनाको वर्गीकरण गर्दै त्यस्ता सूचना दिन बाध्यकारी नहुने सञ्चार नीति ल्याउने तयारीमा छ ।

न्यायपालिकाका काम कारबाहीसम्बद्ध सूचनालाई व्यवस्थित गरी कानुनी शासनलाई मूर्तरूप दिन यस्तो नीति ल्याउन थालिएको भनाइ सर्वोच्चको छ । अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ ।

अदालतमा विचाराधीन मुद्दाको निर्णय र आदेश वा काम कारबाहीमा प्रभाव पर्ने गरी सूचना सम्प्रेषण गर्न नपाइने व्यवस्था प्रस्तावित सञ्चार नीतिमा छ ।

न्यायिक समाचार सम्प्रेषणका लागि अदालत पुग्ने पत्रकारले मर्यादित पोसाक लगाउनुपर्ने व्यवस्थासमेत सञ्चार नीतिमा राखिएको छ ।

‘न्याय सम्पादनसम्बन्धी काम कारबाहीको सिलसिलामा गरेको कुनै निर्णय, आदेश वा काम कारबाहीको विषयप्रति व्यक्तिगत स्वार्थ वा दुराग्रह राखी अदालत, न्यायाधीश, कानुन व्यवसायी वा कर्मचारीउपर व्यक्तिगत लाञ्छना लाग्ने वा न्यायपालिकाको विश्वसनियतामा आँच आउने गरी कुनै समाचार, सूचना, टिप्पणी वा लेख रचना प्रकाशन प्रसारण गर्न पाइने छैन’, सञ्चार नीतिको प्रारम्भिक मस्यौदामा भनिएको छ ।

अदालतको सम्बन्धित इजलासले अनुमति दिएबाहेक इजलासको कामकारबाहीसम्बन्धी समाचार वा सूचना संकलनमा श्रव्यदृश्य सामग्रीको प्रयोग गर्न नपाइने व्यवस्थासमेत राखिएको छ ।

मुलुकभरका सबै अदालतले सार्वजनिक चासोको विषयका मुद्दा(मामिलामा भएका आदेश, निर्णय वा कामकारबाहीका सूचना यथाशीघ्र सर्वोच्च अदालतको सूचना तथा सञ्चार शाखालाई उपलब्ध गराउनु पर्नेछ । सर्वोच्चलाई प्राप्त सूचना तथा जानकारी सूचना तथा सञ्चार शाखाले सम्प्रेषण गर्ने व्यवस्था मिलाउनेछ ।

सूचना प्रवाह वा समाचार संकलनका लागि आवश्यक क्यामेरा वा भिडियो क्यामेरा वा श्रव्यदृश्य लिन मिल्ने अन्य साधन अदालतमा लैजानुपर्ने भएमा अदालतबाट पूर्वअनुमतिपत्र लिनुपर्ने व्यवस्था छ ।

यस्तै, सार्वजनिक महत्वको मुद्दामा भएको सुनुवाइको रेकर्ड गर्न, फोटो लिन, भिडियो खिच्न, रेडियो तथा टेलिभिजनमा प्रसारण गर्न आवश्यक देखिए सम्बन्धित इजलासको अनुमति लिएर प्रसारण गर्नु पर्नेछ ।