काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै बारा र पर्साका अधिकांश पेट्रोल पम्प बन्द भएका छन्। बढी मूल्यमा खरिद गरिएको इन्धन सस्तोमा बिक्री गर्नुपरेको भन्दै पम्प सञ्चालकहरूले बिक्री वितरण रोकेको जनाइएको छ।
पम्पहरू बन्द भएपछि पेट्रोल र डिजेल लिन पुगेका उपभोक्ता रित्तै हात फर्किन बाध्य भएका छन्। धेरैजसो पम्पले बाहिर ‘पेट्रोल, डिजेल छैन’ भन्ने सूचना टाँसेर बिक्री बन्द गरेका छन्, जसका कारण ती क्षेत्रमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना भएको छ।
नेपाल आयल निगमले मंगलबारदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ मूल्य घटाएको थियो।
यसअघि मूल्य बढ्दा भने पम्पहरू नियमित सञ्चालनमा राखी पुरानै मौज्दात उच्च मूल्यमा बिक्री गरिएको भन्दै अहिलेको अवस्थाप्रति उपभोक्ताले असन्तुष्टि जनाएका छन्।
निगम सञ्चालक समितिको निर्णयअनुसार नयाँ मूल्यसूचीमा काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १९७ रुपैयाँ तथा डिजेल र मट्टितेल १९५ रुपैयाँ कायम गरिएको छ। यसअघि यी क्षेत्रमा पेट्रोल २१७ रुपैयाँ र डिजेल २२५ रुपैयाँ प्रतिलिटर थियो।
यस्तै विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १९४.५० रुपैयाँ तथा डिजेल र मट्टितेल १९२.५० रुपैयाँ कायम गरिएको छ। सुर्खेत र दाङमा पेट्रोलको मूल्य १९६ रुपैयाँ तथा डिजेल र मट्टितेल १९४ रुपैयाँ प्रतिलिटर निर्धारण गरिएको छ।