मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

राष्ट्र बैंकले आज ४५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्दै, दिउँसो ३ बजेसम्म बोलकबोल

बुधबार, असार १७ २०८३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ४५ अर्ब रुपैयाँ बराबरको एकवर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ (ख)’ बोलकबोलमार्फत निष्कासन गर्ने भएको छ।

राष्ट्र बैंकका अनुसार ऋणपत्रको बोलकबोल आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत हुनेछ। ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण गरिनेछ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुनेछ। यसको साँवा २०८४ असार १७ गते भुक्तानी गरिने व्यवस्था छ।

यस ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ र त्यसपछि ५ करोडकै गुणकमा कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिनेछ। साथै, यो ऋणपत्र नेपाल राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा पनि प्रयोग गर्न सकिनेछ।

राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) मात्र बोलकबोल प्रक्रियामा सहभागी हुन पाउनेछन्। एउटै संस्थाले फरक–फरक ब्याजदरमा समेत बोलकबोल गर्न सक्नेछ भने स्वीकृत हुने ब्याजदर सबैभन्दा कम ब्याजदरबाट क्रमशः निर्धारण गरिनेछ।

राष्ट्र बैंकले स्वीकृत भएको बोल रकम निष्कासनकै दिन सम्बन्धित संस्थाको खाताबाट कट्टा गर्ने जनाएको छ। खातामा पर्याप्त मौज्दात नभए स्वीकृत बोल रद्द हुनुका साथै सम्बन्धित संस्था छ महिनासम्म खुला बजार कारोबार तथा ब्याजदर करिडोरअन्तर्गतका बोलकबोलमा सहभागी हुन नपाउने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्रमा गरिएको लगानीलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गरिने छैन। तर वैधानिक तरलता अनुपात (एसएलआर) र खुद तरल सम्पत्ति अनुपात मा भने गणना गर्न सकिनेछ। साथै, ऋणपत्र परिपक्व हुनुअघि साँवा फिर्ता नदिइने र अन्य प्रक्रिया प्रचलित कानुन तथा व्यवस्थाअनुसार हुने राष्ट्र बैंकले जनाएको छ।