मकवानपुर । लगातारको वर्षापछि खसेको पहिरोका कारण हेटौँडा–काठमाडौं जोड्ने कान्ति लोकपथ मंगलबार बिहानदेखि अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भीमफेदी गाउँपालिका–८ भरेङडाँडासहित मकवानपुर–ललितपुर सीमा क्षेत्रमा पर्ने बागमती गाउँपालिकाका विभिन्न स्थानमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।
प्रहरीले वर्षा निरन्तर भइरहेकाले तत्काल पहिरो पन्छाउन कठिनाइ भइरहेको जनाएको छ। मौसममा सुधार आएपछि मात्र सडक खुलाउने गरी पहिरो हटाउने काम अघि बढाइने बताइएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले अर्को सूचना जारी नभएसम्म कान्ति लोकपथ प्रयोग नगर्न र यात्रा गर्दा वैकल्पिक सडकमार्ग रोज्न सर्वसाधारण तथा सवारी चालकलाई आग्रह गरेका छन्।