बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा चालकसहित २२ जना घाइते भएका छन्।
प्रहरीका अनुसार धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको शिवपुरी लक्जरी कोच प्रालिद्वारा सञ्चालित बस अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएपछि पल्टिएको हो।
दुर्घटनामा घाइते भएका अधिकांश यात्रुको टाउको, हात, खुट्टा, छाती, कम्मरलगायत शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।
घाइते सबैलाई जिल्ला अस्पताल तौलिहवामा प्रारम्भिक उपचार गरिएपछि थप उपचारका लागि भैरहवास्थित मेडिकल कलेजमा रिफर गरिएको छ।
दुर्घटनाका बेला बसमा चालकसहित ४६ जना सवार थिए। दुर्घटनापछि क्रेनको सहायताले बस हटाइएपछि हुलाकी सडकखण्डमा दुवैतर्फको सवारी आवागमन पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ।