बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

धानखेतीलाई आधुनिक र जलवायुमैत्री बनाउनुपर्नेमा मुख्यमन्त्री आचार्यको जोड

सोमबार, असार १५ २०८३

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धानखेतीलाई आधुनिक, व्यावसायिक तथा जलवायुमैत्री बनाउँदै कृषि उत्पादन वृद्धि गर्नुपर्ने बताएका छन्।

राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३ का अवसरमा जारी शुभकामना सन्देशमा मुख्यमन्त्री आचार्यले बदलिँदो जलवायु र मौसमको अनिश्चितताबीच नवीन प्रविधिको प्रयोग, वैज्ञानिक खेती प्रणाली र प्रभावकारी व्यवस्थापनमार्फत धान उत्पादन बढाउन सकिने बताएका छन्।

उनले कृषि क्षेत्रको आधुनिकीकरण, धान उत्पादन वृद्धि र खाद्य आत्मनिर्भरताका लागि लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारालाई व्यवहारमा उतार्न विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले कृषि क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा लिँदै यान्त्रीकरण, व्यवसायीकरण र बजारीकरणलाई उच्च प्राथमिकतामा राखेको बताए।

उनले साना तथा सीमान्तकृत किसानलाई विशेष प्राथमिकता दिँदै कृषि उत्पादन वृद्धि, खेतीयोग्य जमिनको सदुपयोग, सिँचाइ सुविधाको विस्तार तथा समयमै गुणस्तरीय बीउ र मल उपलब्ध गराउन सङ्घ सरकार, स्थानीय तह र सम्बन्धित निकायसँग प्रभावकारी समन्वय र सहकार्य भइरहेको बताए।

मुख्यमन्त्री आचार्यले प्रविधिमैत्री खेती प्रणालीको विस्तार, उत्पादन वृद्धि तथा मूल्य शृङ्खलाको विकासमार्फत कृषिलाई सम्मानित, मर्यादित र लाभदायक पेसाका रूपमा स्थापित गर्न प्रदेश सरकार निरन्तर लागिपरेको पनि उल्लेख गरेका छन्।