सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

कृषिमा आधुनिकीकरण गरी बाँझो जमिनको अन्त्य गर्न राष्ट्रपतिको आह्वान

सोमबार, असार १५ २०८३

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गर्दै कृषिमा आधुनिकीकरण गर्नुपर्नेमा जोड दिएका छन्।

२३औँ राष्ट्रिय धान दिवस–२०८३ का अवसरमा जारी शुभकामना सन्देशमा उनले कृषिलाई आधुनिक र व्यावसायिक बनाउँदै विदेश पलायन भएका जनशक्तिलाई स्वदेशमै आकर्षित गर्न सके धान तथा चामलको आयात न्यूनीकरण गर्न सकिने बताए।

उनले श्रम संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर बन्न सबै पक्षको ध्यान केन्द्रित हुनुपर्ने उल्लेख गर्दै जीविकोपार्जनमा सीमित नभई व्यावसायिक कृषितर्फ उन्मुख हुन कृषकलाई आग्रह गरे। साथै, कृषिको विकासका लागि आवश्यक नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई पनि ध्यान दिन आग्रह गरे।

राष्ट्रपति पौडेलले असार महिना धान रोप्ने र ‘मानो रोपेर मुरी फलाउने’ समय भएकाले कृषि कार्यका दृष्टिले विशेष महत्व राख्ने बताए। नेपाली जीवनशैली प्रकृति र माटोसँग घनिष्ठ रूपमा जोडिएको उल्लेख गर्दै हिलोमा धान रोप्ने तथा दही–चिउरा, अचारलगायतका परिकारसँग असार १५ मनाउने परम्पराले यस दिनलाई सांस्कृतिक रूपमा पनि विशेष बनाएको बताए।

उनले जलवायु परिवर्तनका कारण धानखेतीमा परेको नकारात्मक प्रभाव न्यूनीकरण गर्न सरकार, कृषक तथा सरोकारवाला सबै पक्ष सचेत हुनुपर्ने आवश्यकता औँल्याउँदै देशको मागअनुसार धान उत्पादन र उत्पादकत्व वृद्धि गर्नु आजको प्रमुख आवश्यकता भएको बताए।

राष्ट्रपति पौडेलले कृषिमा बढ्दो परनिर्भरता घटाउन, उत्पादन वृद्धि, आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले २०६१ सालदेखि प्रत्येक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको स्मरण गरे। यस वर्ष ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ दिवस मनाइँदैछ।

शुभकामना सन्देशमा उनले नेपालको धानखेती अझै पनि वर्षामा निर्भर रहेकाले उत्पादन वृद्धि गर्न धानखेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गर्नु राज्यको प्राथमिकता हुनुपर्ने बताए। संविधानले खाद्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै कृषकलाई कृषि सामग्री, उचित मूल्य र बजार पहुँच उपलब्ध गराउने नीतिको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको धारणा पनि व्यक्त गरे।