काठमाडौँ । देशका अधिकांश क्षेत्रमा मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भू–भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा मनसुनी प्रणाली सक्रिय छ भने अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
विभागले गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू–भागसहित कर्णाली र सुदूरपश्चिम प्रदेशमा आगामी दुईदेखि तीन दिनभित्र मनसुन विस्तार हुने जनाएको छ।
हाल कोशी र मधेस प्रदेशका साथै देशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थान तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। तराईका केही स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने विभागले जनाएको छ।
कोशी प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने कोशीको तराई र मधेस प्रदेशका केही क्षेत्रमा हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा धेरै स्थानमा तथा लुम्बिनीका पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा पनि केही स्थानमा वर्षा हुने अनुमान गरिएको छ।
त्यस्तै, मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकीका तराईका धेरै स्थानमा, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने विभागले जनाएको छ। कोशी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ भने मधेस, बागमती र गण्डकीका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने अनुमान छ। साथै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेशका केही क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।