काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलहरूले मुलुकको सीमासम्बन्धी प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिबारे संसदमै उपस्थित भएर स्पष्ट पार्नुपर्ने माग गरेका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठक सुरु हुनासाथ विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेपछि सभामुख डोलप्रसाद अर्यालले उनीहरूलाई धारणा राख्न समय दिएका थिए ।
नेपाली कांग्रेसकी सांसद रेनुका काउँचाले प्रधानमन्त्रीले संसद्मा स्पष्ट पार्नुपर्ने विषय पार्टीको महाधिवेशनमा उठाउनु संसद्को गरिमाविपरीत भएको बताइन्। उनले प्रधानमन्त्रीले सदनमै आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने माग गरिन् ।
नेकपा (एमाले)का सांसद डा. पुष्पराज कँडेलले पनि प्रधानमन्त्री संसद्मा उपस्थित भएर सीमासम्बन्धी अभिव्यक्तिबारे स्पष्ट पार्नुपर्ने बताए। साथै, उहाँले एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सरकारले पूर्वाग्रह राखेर पक्राउ गरेको आरोप लगाए ।
नेपाल कम्युनिस्ट पार्टीका सांसद युवराज दुलालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउन सरकारको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिए। उनले प्रदेशसभा खारेज गरी सङ्घीयताको पुनःसंरचना गर्ने सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रस्तावप्रति असहमति जनाए ।
श्रम संस्कृति पार्टीका सांसद आरेन राईले राष्ट्रियतासँग सम्बन्धित विषय भएकाले प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर आफ्नो अभिव्यक्तिबारे स्पष्ट पार्नुपर्ने माग गरे ।