इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ। इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबाट लेदोसहितको पहिरो झरेपछि यातायात प्रभावित भएको हो।
प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले गएरातिको वर्षापछि लेदोसहितको पहिरो झर्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको बताउनुभयो। उक्त सडकखण्ड पहिरोको उच्च जोखिममा पर्ने भएकाले यसअघि पनि पटक–पटक यस्तै समस्या दोहोरिने गरेको उनले जानकारी दिए।
उनका अनुसार साना सवारीसाधनलाई एकतर्फी रूपमा सञ्चालन गराउने उद्देश्यले बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको छ। तर लगातार लेदो झरिरहेकाले ठूला सवारीसाधन सञ्चालनमा आउन भने केही समय लाग्ने उनले बताए।
यस्तै, मेची राजमार्गअन्तर्गत रोङ गाउँपालिका–४ स्थित इलाम–झापा सीमाक्षेत्रमा ढिस्को खस्नुका साथै दुईवटा रूख ढलेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। प्रहरी उपरीक्षक कुलदीप चन्दका अनुसार उक्त सडकखण्ड खुलाउन पनि प्रयास भइरहेको छ।
सडक अवरुद्ध भएपछि इलाम, पाँचथर, ताप्लेजुङ र झापाबीचको यातायात सेवा प्रभावित भएको छ। इलाम, पाँचथर र ताप्लेजुङबाट झापा जाने तथा झापाबाट ती जिल्लातर्फ आउने सवारीसाधन बीच बाटोमै रोकिँदा यात्रुहरू अलपत्र परेका छन्।