काठमाडौं भदौ, १९– फर्जी बैंक ग्यारेन्टी गर्दा जमानी बसेको अभियोग लागेका कर्णाली प्रदेशका पूर्वमन्त्री खड्गबहादुर खत्रीसँग उच्च अदालत पाटनले पाँच लाख धरौटी मागेको छ ।
बुधबार अदालतमा उपस्थित भएका खत्रीको थुनछेक बयान र बहस पछि मुख्यन्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासले उनीसँग पाँचलाख धरौटी मागेको हो ।
कृषि विकास बैंक रत्नपार्कको जाहेरीमा नेपाल सरकारले नै उनीविरूद्ध बैंकिङ कसुर सम्बन्धी मुद्दा लगाएको थियो ।
खत्री आफैं ठेकेदार हुन् । उनको केएसके नामक कन्स्ट्रक्सन कम्पनी सुर्खेतमा छ । ५५–५५ लाख रुपैयाँका दुई वटा ठेक्काको बैंक ग्यारेन्टी फर्जी बनाउँदा उनी साक्षी बसेका थिए र प्रहरीले उनको बयान पनि संलग्न राखेको थियो ।
बैंक ग्यारेन्टीमा ठेकेदार रणवीर तुम्बा र देवजंग शाहीको प्रत्यक्ष संलग्नता थियो । मुद्दामा तुम्बा, शाही र बैंकका तत्कालीन शाखा अधिकृत छविलाल ढकाललाई प्रहरीले पक्राउ गरी अदालत पेश गरेको थियो ।
प्रहरीले प्रतिवादी कायम गरी पठाएका मन्त्री खत्री र अर्का राजुप्रसाद श्रेष्ठ उपस्थित नभएपछि साउन २७ गते उच्च अदालत पाटनले ३ दिनभित्र पक्राउ गर्न भनेको थियो ।
अदालतको आदेशअनुसार प्रहरीले उनलाई उपस्थित गराउन नसकेपछि उनी आफैं अदालत उपस्थित भएका हुन् । मन्त्री खत्री एक महिनापछि अदालत उपस्थित भएका हुन् ।
निलम्बित मन्त्री खत्री, राजुप्रसाद श्रेष्ठसहित ५ जनाले कृषि विकास बैंकबाट १ करोड १० लाख ८० हजार रुपैयाँ रकम बराबरको किर्ते बैंक ग्यारेन्टी बनाएका थिए । त्यसका लागि मन्त्री खत्री र श्रेष्ठसँग बयान लिनुपर्ने भन्दै अदालत उपस्थित हुन आदेश दिइएको थियो । अन्य प्रतिवादीलाई उपस्थित गराए पनि प्रहरीले श्रेष्ठ र खत्रीलाई भने फरार देखाइएको थियो ।