बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

हिमाल आरोहणमा विश्व कीर्तिमान राख्दै पूर्वब्रिटिश सैनिक निर्मल पुर्जा

बुधबार, भाद्र १८ २०७६

काठमाडौं भदौ, १८– सात महिनामा आठ हजारभन्दा माथिका १४ हिमाल आरोहण गरेर विश्व कीर्तिमान राख्ने अभियानमा लागेका पूर्वब्रिटिश सैनिक निर्मल पुर्जा ‘निम्स’ सम्मानित भएका छन् । साहसीको प्रतिकका रुपमा विश्वमा चर्चित भइरहेका निम्सलाई सशस्त्र प्रहरी बल नेपालले सम्मान गरेको हो । यद्यपि,  निम्सलाई विश्वले चिनेपनि नेपालमा भने उनको खासै चर्चा छैन ।   उनले तीन महिनामा नै ११ हिमाल त आरोहण गरेर विश्वलाई चकित पारिसकेका छन् ।
बुधबार सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले  सशस्त्र प्रहरी बल,नेपाल प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा उनलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् । 
 निम्सले सात महिनाभित्र उल्लेखित १४ वटै हिमालहरुको सफल आरोहण गर्ने लक्ष्य लिएकोमा अब बाँकी रहेका तीन वटा हिमालहरुको आरोहण पुरा गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।  उनले  पूर्व ब्रिटिस गोर्खा सैनिक भएको कुरा उक्त विशेष समारोहमा बताएका थिए । 

उक्त अवसरमा बोल्दै सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले  हिमाल आरोहणको क्षेत्रबाट देशको नाम विश्वमा फैलाउन सफल रहेकोमा आरोही निम्सको साहस तथा लगन र योगदानको उच्च मूल्यांकन गरेका थिए । उनले भने, ‘हिमालको सफल आरोहण कै कारण उहाँ विश्वमा निम्सको नामले चिनिनुभएको छ, उहाँ  नेपालको गौरवशाली इतिहास र परम्परालाई अगाडी बढाउन सफल हुनुभएको छ ।’

हामीले सशस्त्र प्रहरी बलमा सेवारत रहेकोमा गर्व गर्ने गरेको स्मरण गर्दै उनले दायित्व निर्वाहका क्रममा सेवा तथा सुरक्षा र सहयोग पुर्याउने मात्र नभई जोखिमपुर्ण स्थानहरुमा आपत विपदमा उद्दार कार्यको लागि साहस चाहिने बताउदै त्यो साहस हिमाल आरोही निम्सबाट सिक्न सकिने उनको भनाइ थियो । 

सशस्त्र प्रहरी महानिरीक्षक खनालले मान्छेहरुले आफ्नो तथा आफ्ना लागि सोच्ने गरेको तर निम्सले आफ्नो घर समेत विक्रि गरेर हिमाल आरोहण थालेको बताए । ‘उहाँले त्यो के का लागि गर्नुभयो त ? निश्चय नै देशका लागि हो’ भन्दै आइजीपी खनालले भने ‘नेपाल र नेपालीको नाम विश्वमा फैलाउन उहाँले गरेको योगदान वास्तवमै सराहनीय छ ।’

विश्व किर्तिमानी हिमाल आरोही निर्मल पुर्जा ‘निम्स’ले उक्त विशेष समारोहमा विभिन्न हिमाल चढ्दाको आफ्नो गर्विलो अनुभव सुनाएका थिए  ।

हिमाल आरोहणका कुरा गर्दा भावनात्मक रुपमा के भयो र के–के त्याग गरियो भन्ने कुरा आफ्नो स्मरणमा रहेको उल्लेख गर्दै उनले आफुले आफ्ना लागि नभई नेपाल र नेपालीको गौरवको लागि उक्त प्रयास गरेको बताए ।

‘गर्व र खुशी छु’ हिमाल आरोही निम्सले भने– ‘सशस्त्र प्रहरी बलले निमन्त्रणा गरेर आफ्नो कामको सराहना गरी आफुलाई सम्मान गरेर थप हौसला प्रदान गर्दै उत्प्रेरणा दिएकोमा यस संगठनप्रति आभारी छु ।’

म्याग्दी जिल्लामा जन्मिएका मेम्बर अफ ब्रिटिस इम्पायर (एमबीई) बाटसुशोभित पूर्व ब्रिटिस गोर्खा सैनिक निम्सले आफू रोयल नेभीमा स्पेशल फोर्समा समेत कार्यरत रहेको विगत उक्त समारोहमा बताएका थिए  ।

हिमाल आरोहणका लागि उक्त जागिर परित्याग गर्दै १२ दिनमा आठ हजार मिटर भन्दा अग्ला पाँचवटा हिमालहरुको सफल आरोहण गरेको अनुभव उनीसँग रहेको छ । 

उनले दुई दिन ३० मिनेटमा सगरमाथा, लोत्से र मकालु हिमालको सफल आरोहण गर्दै पुरानो गिनीज बुक अफ दी वल्र्ड रेकर्डमा रहेको ५ दिन ३ घण्टा ३५ मिनेटको पुरानो रेकर्ड तोड्न सफल भएको जानकारी गराए ।