मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

बैंकिङ क्षेत्रको निक्षेपमा उल्लेख्य वृद्धि

कर्जा विस्तार सुस्त, वैशाखसम्म १६ प्रतिशतले बढ्यो निक्षेप

सोमबार, असार ८ २०८३

चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो १० महिनासम्ममा बैंकिङ क्षेत्रमा उल्लेख्यरुपमा निक्षेप रकम बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा निजी क्षेत्रतर्फको कर्जा प्रवाह भने सुस्त रहेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी तथ्यांक अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप नौं दशमलव चार प्रतिशत अर्थात् छ खर्ब ८५ अर्ब ४१ करोड रुपैयाँले बढेर ७९ खर्ब ४९ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा निक्षेप वृद्धि छ दशमलव दुई प्रतिशत अर्थात् तीन खर्ब ९९ अर्ब ८१ करोड रुपैयाँ रहेको थियो । वार्षिक विन्दुगत आधारमा २०८३ वैशाख मसान्तसम्म बैंकिङ प्रणालीको निक्षेप १६ प्रतिशतले बढेको छ । निक्षेप संरचनातर्फ हेर्दा कुल निक्षेपमा चल्ती निक्षेपको हिस्सा छ दशमलव आठ प्रतिशत, बचत निक्षेपको ४६ दशमलव दुई प्रतिशत र मुद्दती निक्षेपको ३८ दशमलव दुई प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपात क्रमशः पाँच दशमलव पाँच प्रतिशत, ३५ दशमलव नौं प्रतिशत र ५० दशमलव आठ प्रतिशत रहेको थियो । यसैगरी कुल निक्षेपमा संस्थागत निक्षेपको हिस्सा ३३ दशमलव सात प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्ष ३५ दशमलव पाँच प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा पाँच दशमललव सात प्रतिशत अर्थात् तीन खर्ब १२ अर्ब रुपैयाँले बढेर ५८ खर्ब नौं अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा निजी क्षेत्रतर्फको कर्जा सात दशमलव तीन प्रतिशत अर्थात् तीन खर्ब ६८ अर्ब ६८ करोड रुपैयाँले बढेको थियो । वार्षिक विन्दुगत आधारमा निजी क्षेत्रतर्फको कर्जा वृद्धि दर छ दशमलव सात प्रतिशत रहेको छ । कर्जाको क्षेत्रगत वितरणअनुसार वैशाख मसान्तसम्म निजी क्षेत्रतर्फ प्रवाहित कुल कर्जामध्ये ६२ दशमलव सात प्रतिशत गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ र ३७ दशमलव तीन प्रतिशत व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ गएको छ । अघिल्लो वर्ष यस्तो अनुपात क्रमशः ६३ दशमलव एक प्रतिशत र ३६ दशमलव नौं प्रतिशत रहेको थियो । समीक्षा अवधिमा वाणिज्य बैंकहरूको निजी क्षेत्रतर्फको कर्जा पाँच दशमलव आठ प्रतिशत, विकास बैंकहरूको पाँच प्रतिशत तथा फाईनान्स कम्पनीहरूको दुई दशमलव नौं प्रतिशतले बढेको छ । धितोका आधारमा हेर्दा बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जामध्ये १४ दशमलव नौं प्रतिशत चालु सम्पत्ति अर्थात कृषि तथा गैर–कृषिजन्य वस्तुको सुरक्षणमा र ६३ दशमलव पाँच प्रतिशत घरजग्गा धितो सुरक्षणमा प्रवाहित भएको छ । अघिल्लो वर्ष यस्तो अनुपात क्रमशः १४ दशमलव छ प्रतिशत र ६५ दशमलव एक प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार क्षेत्रगत रूपमा कर्जा प्रवाहको अवस्था मिश्रित देखिएको छ । निर्माण क्षेत्रमा कर्जा १२ दशमलव आठ प्रतिशतले बढेको छ भने उपभोग्य क्षेत्रमा १२ दशमलव तीन प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रमा १० दशमलव नौं प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रमा छ दशमलव आठ प्रतिशत, सेवा उद्योग क्षेत्रमा तीन दशमलव तीन प्रतिशत तथा फाईनान्स, बीमा र अचल सम्पत्ति क्षेत्रमा एक प्रतिशतले वृद्धि भएको छ । तर कृषि क्षेत्रतर्फको कर्जा भने दुई दशमलव तीन प्रतिशतले घटेको छ ।

कर्जाका प्रकारअनुसार ट्रष्ट रिसिट (आयात) कर्जा ३६ दशमलव एक प्रतिशतले वृद्धि भएको छ । यस्तै, मार्जिन प्रकृतिको कर्जा १५ दशमलव एक प्रतिशत, हायर पर्चेज कर्जा नौं दशमलव एक प्रतिशत, रियल स्टेट तथा व्यक्तिगत आवासीय घर कर्जा पाँच दशमलव तीन प्रतिशत, माग तथा अन्य चालु पुँजी कर्जा चार दशमलव तीन प्रतिशत, आवधिक कर्जा चार प्रतिशत र क्यास क्रेडिट कर्जा शुन्य दशमलव चार प्रतिशतले बढेका छन् । अधिविकर्ष (ओभरड्राफ्ट) कर्जा भने शुन्य दशमलव सात प्रतिशतले घटेको राष्ट्र बैंकले जानकारी दिएको छ ।