बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नियन्त्रणमा रहेका बिवाइडीका ७७५ विद्युतीय सवारी फुकुवा

मंगलबार, असार २ २०८३

मुस्ताङ । मुस्ताङको कोरला नाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथि लगाइएको नियन्त्रण हटाइएको छ। सशस्त्र प्रहरी बलले दुई सातादेखि नियन्त्रणमा राखेका सवारीसाधन आइतबार साँझदेखि फुकुवा गरेको जनाएको छ।

गत जेठको दोस्रो र तेस्रो सातामा कोरला नाका हुँदै ७७५ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका थिए। तीमध्ये ६४९ वटा सवारीसाधनको मुस्ताङ भन्सार कार्यालयले भन्सार जाँचपास गरिसकेको थियो। आयात प्रक्रियामा अनियमितता भएको हुनसक्ने आशङ्कामा सशस्त्र प्रहरीले ती सवारीसाधन नियन्त्रणमा लिएको थियो।

उक्त सवारीसाधन साइमन इन्कले खरिद गरी नेपाल भित्र्याएको जनाइएको छ। घटनाबारे छानबिन गर्न अर्थ मन्त्रालयले भन्सार विभागअन्तर्गत मूल्याङ्कन शाखाका निर्देशक भूपालराज शाक्यको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो।

छानबिन समितिले जेठ २१ गतेदेखि मुस्ताङ, पर्वत र कास्कीमा राखिएका सवारीसाधनको स्थलगत अध्ययन गरी अनुसन्धान थालेको थियो। समितिको प्रारम्भिक प्रतिवेदनले कोरला नाका हुँदै भित्रिएका विद्युतीय सवारीसाधनमा कुनै कैफियत नदेखिएको निष्कर्ष निकालेपछि नियन्त्रण हटाइएको हो।

यसअघि सशस्त्र प्रहरीले कास्कीको हेमजामा ९८, पर्वतको कुश्मामा १७, जोमसोम क्षेत्रमा २६६ तथा कोरला नाकामा ३९४ वटा विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएको थियो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३३ गुल्म जोमसोमका सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीका अनुसार केन्द्रीय निर्देशनबमोजिम नियन्त्रणमा रहेका सबै सवारीसाधन सम्बन्धित पक्षलाई जिम्मा लगाइएको छ।

उनका अनुसार जोमसोम बसपार्कमा राखिएका २६६ सवारीसाधनमध्ये आइतबार र सोमबार गरी २२३ वटा गन्तव्यतर्फ पठाइसकिएको छ भने ४३ वटा मात्र बाँकी रहेका छन्।

त्यसैगरी, कोरला नाकामा रहेका भन्सार जाँचपास भएका सवारीसाधन पनि क्रमशः गन्तव्यतर्फ पठाइँदै छन्। भन्सार प्रक्रिया पूरा नभएका सवारीसाधनको आवश्यक प्रक्रिया सम्पन्न गरी गन्तव्यमा पठाउन कुनै समस्या नरहेको सशस्त्र प्रहरी बलले जनाएको छ।