काठमाडौं । ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्व सचिव तथा सार्वजनिक प्रशासन विज्ञ बिन्द्रा हाडा भट्टराई नियुक्त भएकी छन् ।
शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले उहाँलाई रिक्त रहेको स्वतन्त्र महिला सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
नियुक्तिपछि बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले विशेष समारोहका बीच भट्टराईलाई सञ्चालक समितिमा स्वागत गरे ।
भट्टराईसँग सार्वजनिक प्रशासन, सुशासन र विकास व्यवस्थापन क्षेत्रमा साढे तीन दशकभन्दा बढीको अनुभव रहेको छ। उनले यसअघि सिँचाइ मन्त्रालय, नेपाल ट्रष्टको कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय सूचना आयोग, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विभिन्न जिम्मेवारी सम्हाल्लेकी थिइन् ।
उनले त्रिभुवन विश्वविद्यालयबाट रसायनशास्त्र र जनप्रशासनमा स्नातकोत्तर तथा कानुनमा स्नातक अध्ययन गरेकी छन्। साथै, अमेरिकाको युनिभर्सिटी अफ नर्थ क्यारोलिनाबाट पब्लिक पोलिसी (ट्रेड एण्ड फाइनान्स) र ड्युक युनिभर्सिटीबाट ननप्रफिट म्यानेजमेन्टमा उच्च शिक्षा हासिल गरेकी हुन् ।
हाल उनी साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भाइरोन्मेन्टको कार्यकारी सदस्य तथा प्रोफेसनल होल्डिङको स्वतन्त्र सञ्चालकका रूपमा कार्यरत छिन् ।
बैंकले उनको आगमनले संस्थागत सुशासन, व्यावसायिक रणनीति तथा दिगो विकास लक्ष्यलाई अझ प्रभावकारी रूपमा अघि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।
नियुक्ति कार्यक्रम बैंकका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत तथा उच्च व्यवस्थापन तहका पदाधिकारीहरूको उपस्थितिमा सम्पन्न भएको थियो।