हेटौंडा भदौ, १३– रेडियो थाहा संचार ९९.६ एफएफले थाहा नारी रत्न सम्मान तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार विन्दावासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहा संचारको परिशरमा उक्त सम्मान तथा दर खाने कार्यक्रमको आयोजना गरिएको हो ।

सो कार्यक्रममा बोल्दै अधिकांश वक्ताहरुले हिन्दु महिलाहरुको महान पर्व तिज भड्किलो, खर्चिलो र देखावटी बनाउन नहुनेमा जोड दिएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा ३ नम्बर प्रदेश सभाकी सदस्य मनु सिग्देलले तिज मौलिक हुनुपर्ने भन्दै तिज संस्कृति मास्ने खालको हुन नहुने बताईन् । तिजमा पछिल्लो समय मौलिकता हराउँदै गएकोले चिन्ता बढेको उनको भनाइ थियो ।
उनले तिजमा बढी खर्च गरेर प्रतिस्पर्धा गर्ने प्रवृतिलाई हटाउन समेत आग्रह गरिन् । त्यस्तै, कार्यक्रममा ३ नम्बर प्रदेश सभाका सदस्य जुनेली श्रेष्ठले तिजमा सभ्य हुन आग्रह गरिन् । उनले तिज महिलाहरुको महान पर्व भएकोले त्यसै अनुरुप महिलाहरुको संस्कृतिलाई जगेर्ना गनुृपर्नेमा जोड दिईन् । तिजमा निराहार व्रत बस्दा स्वास्थ्यलाई ख्याल गर्न पर्ने उनको तर्क थियो ।

यसैबीच, कार्यक्रममा थाहा नारी रत्न सम्मान २०७६ बाट विगत लामो समयदेखि शिक्षा क्षेत्रमा योगदान पु¥याउँदै आएकी तुलसी मेहर स्कुलका सञ्चालक शिला श्रेष्ठलाई सम्मान गरिएको थियो । उनलाई दोसल्ला, सम्मान पत्र प्रदान गरिएको हो ।
रेडियोका सञ्चालक अंकिता सुमार्गीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनी, भिमफेदि गाउँपालिकाका उपाध्यक्ष पार्वती राना, रेडियोका सञ्चालक अरुणराज सुमार्गी, नर्सिङ संघ मकवानपुरका सचिव निर्मला भ्लोन लगायत जिल्लाका विभिन्न सामाजिक संघसस्थाका प्रतिनीधि, पत्रकारहरुको समेत सहभागीता रहेको थियो ।