काठमाडौं । प्रतिनिधिसभा सदस्य स्मृति सेन्चुरीको पहलमा दोलखाको कालिन्चोक गाउँपालिकास्थित भद्रावती खोलामा निर्माण हुने लेप्टुङ्ग–गुमवेशी झोलुङ्गे पुलका लागि बजेट विनियोजन भएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत शहरी, भवन, आवास तथा स्थानीय पूर्वाधार विकास कार्यक्रममार्फत उक्त पुल निर्माणका लागि आवश्यक बजेट सुनिश्चित भएको हो।
कालिन्चोक गाउँपालिका–५ र ६ लाई जोड्ने भद्रावती खोलामाथिको झोलुङ्गे पुल निर्माण भएपछि स्थानीय बासिन्दाको आवतजावत सहज हुने अपेक्षा गरिएको छ। वर्षायाममा खोला तर्नुपर्ने बाध्यता हट्दै कृषक तथा दैनिक रूपमा आवतजावत गर्ने सर्वसाधारणलाई सुरक्षित यात्रा गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
स्थानीयका अनुसार पुल अभावका कारण लामो समयदेखि आवागमनमा समस्या हुँदै आएको थियो। पुल निर्माणका लागि बजेट विनियोजन भएसँगै स्थानीयवासीमा उत्साह थपिएको छ। पुल निर्माण सम्पन्नपश्चता स्थानीय विकासमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
स्थानीयवासीहरूले पुल निर्माणका लागि बजेट व्यवस्थापन गर्न विशेष पहल गरेको भन्दै सांसद् स्मृति सेन्चुरीप्रति आभार व्यक्त गरेका छन्। उनीहरूले लामो समयदेखिको स्थानीय आवश्यकता सम्बोधन भएको बताएका छन्।