नौं महिनामा राजस्व परिचालन आठ खर्ब ८६ अर्ब मात्र
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा नेपाल सरकारको कुल खर्च १० खर्ब रुपैयाँ नाघेको छ । अर्थ मन्त्रालय अन्तर्गत महालेखा नियन्त्रक कार्यालयका अनुसार २०८२ चैत मसान्तसम्म नेपाल सरकारको कुल खर्च १० खर्ब ५९ अर्ब ९५ करोड रुपैंयाँ पुगेको हो ।
समीक्षा अवधिमा चालु खर्चतर्फ सात खर्ब ४७ अर्ब ५२ करोड खर्च भएको छ भने पुँजीगत खर्च ९६ अर्ब २० करोडमा सीमित रहेको छ । यस्तै वित्तीय व्यवस्था खर्च दुई खर्ब १६ अर्ब २३ करोड रुपैंयाँ रहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । तथ्यांक अनुसार चालु खर्चमा वृद्धि देखिए पनि पुँजीगत खर्च भने अपेक्षाकृत न्यून रहेको छ । कुल खर्चको तुलनामा विकास निर्माणसँग सम्बन्धित पुँजीगत खर्चको हिस्सा निकै कम देखिएको छ । यसै अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन आठ खर्ब ८६ अर्ब २८ करोड पुगेको छ । प्रदेश तथा स्थानीय तहमा बाँडफाँट हुने रकम समेत समावेश गरिएको उक्त राजस्वमध्ये कर राजस्वबाट सात खर्ब ९८ अर्ब ७७ करोड संकलन भएको छ भने गैर–कर राजस्वबाट ८७ अर्ब ५१ करोड प्राप्त भएको छ ।
सरकारी खातामा रहेको नगद मौज्दातमा पनि उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकमा रहेका नेपाल सरकारका विभिन्न खातामा २०८२ चैत मसान्तसम्म चार खर्ब २९ अर्ब १७ करोड नगद मौज्दात रहेको छ । यसमा प्रदेश तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत समावेश छ । गत आर्थिक वर्ष २०८१÷८२ को असार मसान्तमा यस्तो मौज्दात एक खर्ब ३७ अर्ब ७८ करोड रहेको थियो । प्रदेश सरकारतर्फ समीक्षा अवधिमा कुल खर्च ७४ अर्ब ९७ करोड पुगेको छ भने कुल स्रोत परिचालन एक खर्ब ४९ अर्ब १५ करोड रहेको छ । प्रदेश सरकारहरूको स्रोत परिचालनमध्ये नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान तथा विभाज्य कोषबाट बाँडफाँट भएको राजस्वसहित एक खर्ब १३ अर्ब ४९ करोड रुपैंयाँ प्राप्त भएको छ । त्यसैगरी प्रदेश सरकारले आन्तरिक रूपमा परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व ३५ अर्ब ६६ करोड रहेको तथ्यांकमा उल्लेख छ ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको नौ महिनाको आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी तथ्यांकले सरकारी खर्चको तुलनामा राजस्व संकलनमा सुधार देखिए पनि पुँजीगत खर्चको कमजोर अवस्था अझै चुनौतीका रूपमा रहेको संकेत गरेको छ । यसैगरी चालु आवको पहिलो नौ महिनामा देशको मौद्रिक सूचकहरूमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा विस्तृत मुद्राप्रदाय आठ दशमलव एकप्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो वृद्धि छ दशमलव दुई प्रतिशत रहेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ चैत मसान्तसम्म विस्तृत मुद्राप्रदाय १४ दशमलव पाँच प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । यसले बैंकिङ प्रणालीमा तरलता र आर्थिक गतिविधि विस्तार हुँदै गएको संकेत गरेको अर्थविद्हरू बताउँछन् । यस अवधिमा खुद वैदेशिक सम्पत्तिमा पनि उल्लेखनीय सुधार देखिएको छ। विदेशी विनिमय मूल्याङ्कन नाफा–नोक्सान समायोजनपछि खुद वैदेशिक सम्पत्ति सात खर्ब ३१ अर्ब १६ करोड अर्थात् २७ दशमलव चार प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सम्पत्ति तीन खर्ब ४६ अर्ब २३ करोड अर्थात् १७ दशमलव चार प्रतिशतले मात्र बढेको थियो । वैदेशिक मुद्रा सञ्चितिमा आएको सुधार, रेमिट्यान्स आप्रवाहमा वृद्धि तथा बाह्य क्षेत्र सन्तुलनमा देखिएको सकारात्मक प्रभावका कारण खुद वैदेशिक सम्पत्तिमा उल्लेख्य विस्तार भएको विश्लेषण गरिएको छ ।
यद्यपि, समीक्षा अवधिमा सञ्चित मुद्रा वृद्धि भने सीमित देखिएको छ । नेपाल राष्ट्र बैंकले खुला बजार कारोबार तथा ऋणपत्र जारीमार्फत बजारबाट अधिक तरलता प्रशोचन गरेकाले सञ्चित मुद्रा केवल शुन्य दशमलव चार प्रतिशतले मात्र बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धि चार दशमलव तीन प्रतिशत रहेको थियो । तर वार्षिक विन्दुगत आधारमा हेर्दा २०८२ चैत मसान्तसम्म सञ्चित मुद्रा ११ दशमलव आठ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । मौद्रिक सूचकहरूको पछिल्लो अवस्थाले बैंकिङ प्रणालीमा तरलता व्यवस्थापन सन्तुलित बन्दै गएको, बाह्य क्षेत्र मजबुत हुँदै गएको तथा वित्तीय प्रणालीमा स्थायित्व कायम गर्न राष्ट्र बैंक सक्रिय रूपमा लागिरहेको संकेत गरेको छ ।