जन्मेका थियौँ हामी ससाना गाउँमा
चरी नाच्ने गाउने रमाइला ठाउँमा
निलाम्मे हुन्थे आकाश र हरिया जङ्गल
सङ्ला ती नदीनाला, दिन थिए मङ्गल ।
विकास ल्यायौँ हामीले देश अघि बढ्दै गयो
धुलो र धुवाँ बिच जीवन सड्दै गयो
सास फेर्न गाह्रो भयो कठिन भयो बाँच्न
सम्पदा विशाल हाम्रो मुस्किल भयो साँच्न ।
कतै छ अति वृष्टि कतै छ खडेरी
पग्लेर जाँदैछ हिमाल जङ्गलमा डढेलो
प्रदूषण जताततै कहाँ पो जाने हो
हरितगृह ग्यासले संसारै खाने भो ।
बाटो छ हाम्रो बुद्धिले हिँड्ने कुबाटो नजाउँ
मानिस हौं हामी भएको सुझबुझ पोलेर नखाउँ
बाँचौँ न हामी युग युगसम्म विकास चाखेर
यी हाम्री आमा पृथिवीलाई विशुद्ध राखेर ।
-प्रेम बस्न्यात