काठमाडौं । नेपाल वायुसेवा सञ्चालक संघले विदेशी यात्रुहरुसँग लिँदै आएको हवाई भाडा घटाउने तथा ७० वर्षभन्दा माथिका वृद्धवृद्धालाई आन्तरिक सेवामा ५० प्रतिशत भाडा छुट दिन नसकिने जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हवाई भाडाको विषयमा सार्वजनिक रुपमा दिएको अभिव्यक्तिको पनि संघले खण्डन गरेको छ । गत सोमबार मात्रै मन्त्री भट्टराईले मन्त्रालय मै पत्रकार सम्मेलन गरी ७० वर्ष माथिका व्यक्तिलाई ५० प्रतिशत भाडा छुट दिने तथा विदेशी यात्रुको पनि भाडादर घटाउने बताएका थिए ।
मन्त्री भट्टराईको उक्त अभिव्यक्ति आएपछि वायुसेवा सञ्चालक संघको बैठक बसी विदेशी नागरिकसँग आन्तरिक उडानमा लिँदै आएको हवाई भाडा घटाउन नसक्ने तथा ७० वर्ष माथिका व्यक्तिलाई भाडादरमा आधा छुट दिन नसकिने भन्दै मंगलबार मन्त्रालयलाई ध्यानाकर्षण पत्र पठाएको श्रोतले जानकारी दिएको छ ।