काठमाडौं भदौ, ७– २५ माघ २०७५ मा नेपालगन्ज फुल्टेक्राका लक्ष्मी कुम्हारले १६ वर्षीया छोरी सपनाको बिहे तय गरे । निम्तो कार्ड छपाएर १०० वटा त बाँडे । बिहे आउन सात दिन बाँकी थियो । बालविवाहको हल्ला चल्यो । प्रहरीले बिहे रोक्यो । सीमावर्ती भारतीय गाउँ गंगापुरमा सुटुक्कै साइकलमा छोरी लगेर बिहे गरिदिए र भोलिपल्ट छोरीसँगै घर फर्के । उनले भने, ‘लगनकै दिन बिहे गर्न पाएर म धन्य भएँ । बूढीले छोरीज्वाइँलाई आशीर्वाद दिन नपाएको गुनासो गर्छे । गौनापछि छोरी आफ्नो घर जान्छे ।’
–फुल्टेक्राकै १६ वर्षीया अञ्जु ८ कक्षामा फेल भएर घरमै बसिरहेकी थिइन् । परिवारले गत ३ जेठमा भारतीय नागरिकसँग घरबाटै धुमधाम बिहे गराइदिए । ‘डेढ सय त बराती आएका थिए’, उनकी काकी सुष्मा मौर्यले भनिन्, ‘भोज खान पुलिस पनि आएका थिए, तर कसैले उमेर सोधेनन् । बिहे भयो ।’ दुई वर्षपछि गौना गरेर अञ्जुलाई घर पठाउने तयारी छ ।
–डुडुवा गाउँपालिका हल्वलडोलीकी १६ वर्षीया विपनाको भारतको बाबागन्जमा बिहे भयो । बिहेमा आमा मीनासहित आफन्त सरिक भए । विपनाका बाबाको पाँच वर्षअघि मृत्यु भएको थियो । चार वर्षको भाइ छ । सम्पत्तिका नाममा दुई कठ्ठा जग्गा । विपनालाई बिहे गर्न नेपालको कानुनले छेकबार लगायो । बिहेकी साक्षी उनकी दिदी ९फुपूकी छोरी० रेखा खटिकले बिहेको रहस्य खोलिन्, ‘मजदुरी गरेर परिवारको खर्च चल्थ्यो । छोरीलाई पाल्न नसक्ने भएपछि बिहे गर्नुपर्यो ।’
–जानकी गाउँपालिका–५ बेलभारकी १४ वर्षीया सरिताको गत फागुनमा भारतीय गाउँ बक्सीमा सुटुक्कै बिहे भयो । उनका बुवासहित १२ जना आफन्त दुलाहाको घर गए र बिहे गरेर अर्को दिन घर फर्के । यादव धम्बोझी मावि नेपालगन्जमा कक्षा ८ मा पढ्छिन् । उनका २० वर्ष पुगेकी जेठी दिदी र १८ वर्षकी माइली दिदीको पनि १५ वर्षभन्दा कम उमेरमै बिहे भएको थियो । माइली बिहेपछि घरमै बस्छिन् । उनको गौना हुन बाँकी छ । माइलीपछि साहिलीको गौना गर्ने तयारी छ । ‘बढेकी छोरी कहाँ घरमा राख्न सकिन्छ रु ’ आमा कैलाशाले भनिन्, ‘राम्रो केटा भेट्टायौं, बिहे गरिदियौं ।’
–बाँकेको डुडुवा गाउँपालिका–३ बनकट्टीमा १८ वर्षकी एक मुस्लिम किशोरीको बिहे भएको खबर तीन महिनापछि गाउँभरि फैलियो । न जन्ती आए, न गाउँघरलाई निम्तो बाँडियो । अभिभावकले गुपचुप भारतीय केटासँग बिहे गरिदिए ।
सपना, अञ्जु, विपना र सरिता प्रतिनिधि पात्र हुन् । बाँकेमा भारतसँग ‘रोटी बेटीको सम्बन्ध’ शताब्दीऔंदेखिको हो तर मुलुकी अपराध (संहिता) ऐन, २०७४ मा ‘बीस वर्ष नपुगी विवाह गर्न वा गराउन नहुने’ व्यवस्थाले अभिभावककै संलग्नतामा बालविवाह भारतमा गर्र्ने ‘गलत चलन’ छ । कानुन छलेर छोरी भारतीयलाई जिम्मा लगाए पुग्ने रीति बस्न थालेको छ ।
अधिवक्ता विश्वजित तिवारीका अनुसार २० वर्ष नपुगेर भएको विवाह स्वतः बदर हुन्छ । कसुर प्रमाणित भए बिहे गर्ने र गराउनेलार्ई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिबाना हुनसक्छ । तिवारी भन्छन्, ‘विपन्न मधेसी समुदायले कानुन छल्न भारतीय ज्वाइँ खोजेर उतै लगेर बिहे गर्ने जुक्ति निकालेका हुन् ।’
जिल्लामा वर्षमा कति बालविवाह हुन्छन् भन्ने तथ्यांक छैन । जिल्ला प्रहरी कार्यालयले जिल्लामा चार वर्ष अवधिमा ९ वटा मुद्दा मात्र दायर गरेको छ । तर बालविवाह धेरै भइरहेको ‘गुपचुप’ कार्यले दर्शाउँछ ।
बाल क्लब सञ्जालको पहलमा गत आवमा ३५ वटा बालविवाह रोकेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर ओली बताउँछन् । सबैभन्दा बढी १० वटा नेपालगन्ज उपमहानगरपालिकाकै थिए । जिप्रका बाँकेको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रकी श्यामकुमारी पाइजा मगर रोकिएकामध्ये १५ वटा भारतमा बिहे गर्ने तयारी रहेको बताउँछिन् ।
नेपालगन्ज–१ मा रहेको सेवा केन्द्र कार्यालय नजिकैबाट गत वैशाखमा प्रहरीले काँदु थरकी १८ वर्षीया युवतीको बिहे रोक्यो । घरमा भोज चलिरहेको थियो । जन्ती आउन बाँकी रहेकै बेला दुलहीलाई नियन्त्रणमा लिएर सम्झाएर पठाइयो । एक महिनापछि उनको भारत लगेर बिहे गरियो । मगर भन्छिन्, ‘गुपचुपमा भारतमा बिहे हुन्छ । समस्या परेर हामीकहाँ आउँदा हामी भारतमै अंशबन्डा र बच्चाको अधिकारका लागि लड्न सुझाव दिन्छौं ।’
दुई वर्षअघि बाँके प्रहरीले नरैनापुर गाउँपालिकाको मटेहियामा बालविवाहविरुद्ध अप्रेसन चलाएर ११ वटा बिहे रोकेको थियो । अहिले प्रहरी सक्रियता देखिँदैन । जिल्लामा हुने बालविवाहमध्ये कम्तीमा पनि एक तिहाइ भारतीयसँग हुने गरेको सम्बद्ध बताउँछन् ।