काठमाडौं । कश्मीर मामिलामा नेपाल सरकारले स्पष्ट धारणा राख्न नसकेको नेपाली कांगे्रसका सांसद जीतेन्द्र देवले बताएका छन् ।
राष्ट्रियसभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै सांसद देवले छिमेकी मुलुकहरुले आ(आफ्नो धारणा सार्वजनिक गरिरहेका बेला नेपाल मौन बस्नु सफल कुटनीति नहुने दाबी गरे ।
उनले नेपालको राष्ट्रिय सहमतिका साथ काश्मीर विवादलाई लिएर सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने आवश्यकता औंल्याए । सांसद देवले भने, ’नजिकबाट नियाल्दै छौं हामी भनेर परराष्ट्र मन्त्रीज्यूले भन्नुभयो । यो नियाल्ने काम कहिलेसम्म हुन्छ । कहिलेसम्म नियालि राख्ने ? आँट छ भने यो सरकारले बोलोस् । के बोल्छ बोलोस्, अनि नेपाली कांग्रेसले आफ्नो प्रतिक्रिया दिन्छ ।’
पछिल्ला कार्यशैलीले सरकार उत्तरतिर फर्कने प्रयत्न गर्दैछ भन्ने सन्देश गएको उल्लेख गर्दे उनले यस्तो सन्देशले नेपाललाई भविष्यमा समस्या पार्ने चेतावनी दिए । भारतसँगको कुटनीतिक सम्बन्धमा असन्तुलन पैदा हुँदा पर्नसक्ने सामाजिक, राजनीतिक र आर्थिक असरबारे समयमै सोच्न उनले आग्रह गरे ।