बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

अदालतमा दर्ता हुन आएका निवेदनलाई रोक्नु न्याय प्राप्तिको बाटोमा अवरोध सिर्जना गर्नु हाे : कामु प्रधानन्यायाधीश

दर्ता भएका सबै रिट निवेदनलाई जेठ ५ गतेका लागि पेसीमा चढाउन निर्देशन

सोमबार, जेष्ठ ४ २०८३

काठमाडौं । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले विधि र प्रक्रियाबमोजिम दर्ता हुन आएका रिट निवेदन दर्ता गर्न आदेश दिएकी छन् ।

कामु प्रधानन्यायाधीश मल्लले गत वैशाख २३ र २५ गतेलगायत विभिन्न मितिमा दर्ताका लागि पेश गरिएका रिट निवेदन सोमबार दर्ता गर्न निर्देशन दिएकी हुन् ।

कानुन व्यवसायीहरूले दर्ताका लागि ल्याएका रिट निवेदन अदालत प्रशासनले दरपीठ गरेको तथा दरपीठविरुद्ध पुनः रिट दर्ता गर्न खोज्दा पनि स्वीकार नगरेको गुनासो गरेपछि उनले उक्त आदेश जारी गरेको जनाइएको छ।

उनले दर्ता भएका सबै रिट निवेदनलाई जेठ ५ गतेका लागि पेसीमा चढाउनसमेत निर्देशन दिएकी छन् ।

आदेशमा “कानुनले तोकेको विधि र प्रक्रियाबमोजिम अदालतमा दर्ता हुन आएका निवेदनलाई रोक्नु न्याय प्राप्तिको बाटोमा अवरोध सिर्जना गर्नुका साथै अदालतप्रतिको जनआस्थामा अविश्वास बढाउने व्यवहार हुन जान्छ” उल्लेख गरिएको छ।

त्यस्तै, नेपालको संविधानको धारा १३६, न्याय प्रशासन ऐन, २०७३ को दफा ३५ तथा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७ बमोजिम प्रधानन्यायाधीशले आवश्यक निर्देशन तथा आदेश दिन सक्ने व्यवस्था रहेको आदेशमा उल्लेख गरिएको छ।

सर्वोच्च अदालत नियमावलीअनुसार अदालतमा दर्ता हुन आएको लिखत दर्ता गर्ने वा दरपीठ गर्ने अधिकार मुख्य रजिस्ट्रारलाई भए पनि विशेष परिस्थितिमा न्याय प्रशासन सञ्चालनमा देखिएको अवरोध हटाउन प्रधानन्यायाधीशले हस्तक्षेप गर्न सक्ने संवैधानिक व्यवस्था रहेको आदेशमा स्पष्ट पारिएको छ।