बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रतिनिधिसभाको आकस्मिक समयमा सडक सुरक्षा, हिटीमङ्ग हराएकोदेखि महिला कुटपिटसम्मका विषय उठान

सोमबार, जेष्ठ ४ २०८३

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरूले सडक सुरक्षा, सांस्कृतिक सम्पदा संरक्षण, महिला हिंसा तथा बालबालिकामाथि हुने दुर्व्यवहारलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

बैठकमा सांसद ठाकुरसिंह थारुले बर्दियाको बबई नदीस्थित लठवा मसान घाटमा एकातिर दाहसंस्कार भइरहेका बेला अर्कोतर्फ डोजर चलाइएको घटनाप्रति आपत्ति जनाए। उनले दाहसंस्कारस्थलमा बस्ने भवन भत्काउन निर्देशन दिने वन कर्मचारीमाथि कारबाही गर्न सरकारसँग माग गरे ।

सांसद गङ्गालक्ष्मी अवालेले ललितपुरमा सहकालका देवता रातो मच्छिन्द्रनाथको रथको दायाँबायाँ राखिने करिब ९० केजी तामामा सुनको जलप गरिएको ‘हिटीमङ्ग’ हराएको विषयमा सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद खुस्बु ओलीले रोजगारीका लागि कुवेत पुगेकी शर्मिला दर्जी अलपत्र परेको उल्लेख गर्दै उनको तत्काल खोजी तथा उद्धार गर्न सरकारसँग माग गरिन् ।

सांसद सुनिल केसीले भूमिगत विद्युत् लाइन र खानेपानी पाइप विस्तार गर्ने कम्पनीहरूले सडक सुरक्षामा लापरबाही गर्दा दुर्घटना बढेको बताए। उनले सडकमा खनेका खाल्डा समयमै नपुरिँदा सर्वसाधारण जोखिममा परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो।

सांसद धनेन्द्र कार्कीले बालबालिकामाथि हुने दुर्व्यवहारका घटना बढ्दै गएको भन्दै सुरक्षा संयन्त्रलाई थप प्रभावकारी बनाउन आग्रह गरे।

सांसद बलावती शर्माले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने दिनमा सम्बन्धित विषयमा गम्भीर बन्न सरकारलाई आग्रह गरे ।

सांसद ध्रुवराज राईले अलपत्र अवस्थामा रहेका सडक, सवारीसाधन तथा यात्रुहरूको सुरक्षामा आवश्यक ध्यान दिन सरकारसँग माग गरे।

त्यसैगरी सांसद सुरेशकुमार चौधरीले जेठ १ गते राप्तीसोनारी गाउँपालिका–३ स्थित सामुदायिक वन क्षेत्रमा बाख्रा चराइरहेका चारजना थारु महिलामाथि भएको कुटपिट र लुटपाट घटनामा संलग्नमाथि कडा कारबाही गर्न माग गरे ।