काठमाडौं — प्रतिनिधिसभा बैठक सुरु हुनासाथ श्रम संस्कृति पार्टीका सांसदहरूले वेल घेराउ गर्दै सभामुखलाई पर्चा देखाउँदै विरोध प्रदर्शन गरेका छन्।
सांसदहरूले “प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्छ” भन्ने नारा लेखिएका पर्चा प्रदर्शन गरेका थिए। प्रदर्शनमा पार्टीका अध्यक्ष हर्क साम्पाङसहित सबै सांसदहरू सहभागी भएका थिए। केही समयसम्म पर्चा प्रदर्शन गरेपछि उनीहरू आ–आफ्नो आसनमा फर्किए पनि पर्चा छातीमा टाँसेर बसेका थिए।
सभामुख डोलप्रसाद अर्यालले सांसदहरूको उक्त प्रदर्शनप्रति आपत्ति जनाएका थिए।
यसअघि विपक्षी दलहरूले प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुपर्ने माग गरेका थिए। तर, प्रधानमन्त्री बैठकमा उपस्थित नभएपछि प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिएका थिए।