बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

राष्ट्र बैंकको लचिलो मौद्रिक नीति यथावत्, स्थायी निक्षेप सुविधासम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने

शनिबार, जेष्ठ २ २०८३

काठमाडाैं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गर्दै अधिकांश विद्यमान व्यवस्थालाई यथावत् राखेको छ। राष्ट्र बैंकले ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइने स्थायी निक्षेप सुविधासम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने घोषणा गरेको छ।

राष्ट्र बैंकका अनुसार विदेशी विनिमय सञ्चिति सन्तोषजनक अवस्थामा रहनु, मुद्रास्फीति लक्ष्यभित्र कायम हुनु तथा आर्थिक वृद्धिदर अपेक्षाकृत कमजोर देखिनुले लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिन सहयोग पुगेको हो। समीक्षा क्रममा बैंकदर, ब्याजदर करिडोर, अनिवार्य नगद मौज्दात (CRR) र वैधानिक तरलता अनुपात (SLR) सम्बन्धी व्यवस्थामा भने कुनै उल्लेखनीय परिवर्तन गरिएको छैन।

राष्ट्र बैंकले हाल अर्थतन्त्रको बाह्य क्षेत्र सहज अवस्थामा रहेको जनाएको छ। चालु आर्थिक वर्षको नौ महिनासम्म विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेकाले चालु खाता, शोधनान्तर स्थिति र विदेशी मुद्रा सञ्चितिमा सुधार आएको उल्लेख गरिएको छ। तर नेपालमा करिब ४० प्रतिशत विप्रेषण पश्चिम एसियाबाट आउने भएकाले त्यहाँको जारी भूराजनीतिक तनावले विप्रेषणमा असर पर्न सक्ने जोखिम औँल्याइएको छ। साथै इन्धन तथा आयातित वस्तुको मूल्य वृद्धि भई व्यापार घाटा विस्तार हुँदा विदेशी विनिमय सञ्चितिमा दबाब पर्न सक्ने राष्ट्र बैंकको विश्लेषण छ।

त्यसैगरी, मुद्रास्फीति लक्ष्यभन्दा कम रहे पनि विश्वव्यापी भूराजनीतिक तनावले भविष्यमा मूल्यवृद्धिमा दबाब सिर्जना गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ। पश्चिम एसियामा जारी युद्धका कारण पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ तथा केही उपभोग्य वस्तुको आपूर्ति श्रृंखलामा असर परेको उल्लेख गर्दै उपभोक्ता मुद्रास्फीति भने लक्षित सीमाभित्रै रहने प्रक्षेपण गरिएको छ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा केही बढेको देखिए पनि आर्थिक गतिविधिमा सुधार भएसँगै त्यसमा क्रमशः सुधार आउने अपेक्षा गरिएको छ। २०८२ चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको प्राथमिक पुँजी तथा पुँजीकोषको जोखिम भारित सम्पत्तिसँगको अनुपात नियामकीय मापदण्डभित्र रहेको जनाइएको छ।

विगत तीन वर्षदेखि वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था कायम रहेको उल्लेख गर्दै राष्ट्र बैंकले यस्तो अवस्थाले समष्टिगत आर्थिक परिसूचकमा पार्न सक्ने प्रभावलाई व्यवस्थापन गर्न आवश्यक कदमप्रति आफू सजग रहेको जनाएको छ। समग्रमा नेपालको वित्तीय स्थायित्व सन्तोषजनक रहेको राष्ट्र बैंकको निष्कर्ष छ।