पाण्डेकाे अनुभव र संस्थागत नेतृत्व क्षमता
काठमाडौं । सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेलाई सर्वोच्च अदालतले हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको छ ।
गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी निरू दाहालले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दायर गरेकी थिइन् ।
न्यायाधीशद्वय सारंगा सुवेदी र शान्तिसिंह थापाको इजलासले एकजना वरिष्ठ अधिवक्ताको रोहबरमा राखेर पाण्डेलाई हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको हो ।
अदालतले अनुसन्धान प्रक्रिया भने निरन्तर अघि बढाउन निर्देशन दिएको छ । साथै आवश्यक परेमा विदेश भ्रमणका लागि अदालतबाट अनुमति लिनुपर्ने व्यवस्था गर्न पनि आदेश दिएको छ ।
सर्वोच्चले प्रारम्भिक अवस्थामै हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने पर्याप्त आधार नदेखिएको ठहर गर्दै पाण्डेको पक्षमा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको हो ।
पाण्डेमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले स्मार्ट टेलिकमको सम्पत्ति लिलाम बिक्री प्रक्रियामा आपराधिक विश्वासघातलगायत आरोप लगाउँदै सिन्धुलीबाट पक्राउ गरी अनुसन्धान थालेको थियो ।
उनको पक्राउपछि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न संघ–संस्थाले विरोध जनाउँदै राजनीतिक पूर्वाग्रहका आधारमा कारबाही गरिएको आरोपसमेत लगाएका थिए ।
पाण्डेकाे अनुभव र संस्थागत नेतृत्व क्षमता
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले पछिल्ला वर्षहरूमा डिजिटल बैंकिङ र ग्राहक सेवामा केन्द्रित हुँदै विभिन्न नयाँ सुविधा सार्वजनिक गरेको छ। बैंकले विशेषगरी मोबाइल बैंकिङ, डिजिटल भुक्तानी र कार्ड सेवामा विस्तार गरेको देखिन्छ।
पाण्डे नेपालको बैंकिङ क्षेत्रमा लामो अनुभव भएका व्यवस्थापकका रूपमा चिनिन्छ। उनले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडमा नेतृत्व सम्हालेपछि बैंकले संस्थागत विस्तार, मर्जर व्यवस्थापन र डिजिटल बैंकिङ सेवामा उल्लेखनीय प्रगति भएकाे पाइन्छ । उनको नेतृत्वमा नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकबीचको ऐतिहासिक मर्जर सफलतापूर्वक सम्पन्न भई “नेपाल इन्भेस्टमेन्ट मेगा बैंक” को रूपमा संयुक्त कारोबार सुरु भएको थियो। यसलाई नेपालको बैंकिङ क्षेत्रकै ठूलो एकीकरणमध्ये एक हाे ।
हाल उनीसँग सम्बन्धित केही कानुनी अनुसन्धानका विषय सार्वजनिक भए पनि बैंकिङ क्षेत्रका धेरै विश्लेषकहरूले उनको व्यवस्थापकीय अनुभव, संस्थागत नेतृत्व क्षमता र बैंक विस्तारमा खेलेको भूमिकालाई सकारात्मक योगदानका रूपमा उल्लेख गर्दै आएका छन्।
उनकै नेतृत्वमा बैंकले:
देशभर शाखा तथा ATM सञ्जाल विस्तार गरेको,
डिजिटल बैंकिङ र UnionPay कार्डजस्ता नयाँ सेवा ल्याएको,
जलवायु वित्त (Climate Finance) क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य अघि बढाएको तथा ग्राहक सेवामा नवप्रवर्तनात्मक अभ्यास सुरु गरेको देखिन्छ।विशेषगरी Green Climate Fund (GCF) सँगको सहकार्यमा NIMB ले नेपालमा निजी क्षेत्रबाट जलवायु वित्त प्रवर्द्धन गर्ने पहल सुरु गरेको थियो, जसलाई बैंकको अन्तर्राष्ट्रिय स्तरको उपलब्धिका रूपमा हेरिएको छ।