मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

शुक्रबार, जेष्ठ १ २०८३

जनकपुरधाम । मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज मधेश प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् ।

प्रदेशसभा बैठक बिहान ११ बजे बस्ने तय भएको छ । अधिवेशनको पहिलो बैठकमै मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यसूची राखिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

गत वैशाख २२ गते जनमत पार्टी ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।

सत्ता पक्षका अनुसार नेपाली कांग्रेस, जसपा नेपाल, लोसपा नेपाल तथा नेकपा लगायत दलहरूको समर्थन कायम रहेकाले मुख्यमन्त्री यादवले सहज रूपमा विश्वासको मत पाउने अपेक्षा गरिएको छ ।

यद्यपि विपक्षी दलहरूले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।

हाल मधेश प्रदेशसभामा १०१ सदस्य कायम छन् । कांग्रेसका २२, एमालेका २४, जनमतका १२, नेकपाका १५, जसपा र लोसपाका २६ तथा नागरिक उन्मुक्ति पार्टी र नेपाल सङ्घीय समाजवादी पार्टीका १–१ जना सांसद रहेका छन् ।

यसअघि प्रदेशसभामा १०७ सदस्य रहेकामा लोसपाका अभिराम शर्मा, जसपाका सरोजसिंह कुशवाहा र राप्रपाकी कञ्चन बिच्छा निलम्बित छन् ।

त्यस्तै जनमतका सतिशकुमार सिंह, नेकपाका भरतप्रसाद साह र रहवर अनसारी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेपछि प्रदेशसभा सदस्यबाट राजीनामा दिएका थिए ।

प्रदेशसभा सचिवालयका अनुसार आजको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलपछि मतदान प्रक्रिया अघि बढाइनेछ ।