मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

नेपाल–थाइल्यान्ड सम्बन्ध थप सुदृढ बनाउन सहकार्य विस्तारमा जोड

शुक्रबार, जेष्ठ १ २०८३

काठमाडौँ । थाइल्यान्डका लागि नेपालका राजदूत धनबहादुर ओली र थाइल्यान्डको परराष्ट्र मन्त्रालयअन्तर्गत दक्षिण एशिया, मध्यपूर्व तथा अफ्रिका मामिला विभागकी महानिर्देशक उरासा मोङकोलनाभिन बीच बिहीबार भेटवार्ता भएको छ ।

भेटका क्रममा दुवै पक्षले नेपाल र थाइल्यान्ड बीचको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धप्रति सन्तोष व्यक्त गर्दै व्यापार, लगानी, पर्यटन, संस्कृति, कृषि र शिक्षालगायतका क्षेत्रमा द्विपक्षीय सहकार्य थप विस्तार गर्ने विषयमा छलफल गरेका छन् ।

ब्याङ्ककस्थित नेपाली राजदूतावास का अनुसार गत वर्ष नेपाल र थाइल्यान्डबीच सम्पन्न आठवटा समझदारीको कार्यान्वयन अवस्थाबारे समीक्षा गर्दै ती सहमतिलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा पनि दुवै पक्षले जोड दिएका थिए ।

भेटमा कृषि सहयोग तथा फौजदारी मामिलामा पारस्परिक कानुनी सहयोगसम्बन्धी प्रस्तावित द्विपक्षीय सम्झौता छिट्टै निष्कर्षमा पुर्‍याउने विषयमा समेत छलफल भएको जनाइएको छ ।

दुवै पक्षले नेपाल–थाइल्यान्ड संयुक्त परामर्श संयन्त्रको आगामी बैठक पारस्परिक अनुकूल समयमा नेपालमा आयोजना गर्ने विषयमा पनि विचार आदानप्रदान गरेका थिए ।

त्यसैगरी, व्यापारिक परिपूरकतामा वृद्धि गर्दै नेपाली र थाइ उत्पादनबीच मूल्य शृङ्खला सुदृढ गर्ने तथा हिमाली र समुद्री स्रोतमा आधारित वस्तु तथा सेवाको एकीकरणमार्फत थप मूल्य अभिवृद्धि गर्ने विषयमा पनि जोड दिइएको थियो ।

भिसा प्रक्रियालाई सहज बनाउने, पर्यटन सेवामा सुधार गर्ने तथा मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण र साइबर अपराध नियन्त्रणका लागि सूचना तथा गुप्तचर आदानप्रदानमा सहकार्य सुदृढ गर्ने सहमति पनि दुवै पक्षबीच भएको छ ।

यसैबीच, क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा सहकार्य अभिवृद्धि गर्ने तथा अन्तर्राष्ट्रिय मञ्चमा एकअर्काको उम्मेदवारीलाई पारस्परिक समर्थन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।