मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

प्रधानमन्त्री शाह संसदीय अभ्यासप्रति अनिच्छुक देखिएको राप्रपाको दाबी

हामी संसदमा प्रधानन्त्रीको जवाफ खोज्छौं, उहाँ सामाजिक सञ्जालमा जवाफ दिनुहुन्छ– खुश्बु ओली

बिहिबार, बैशाख ३१ २०८३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री बालेन्द्र शाह संसदप्रति अनुत्तरदायी भएको भन्दै आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले प्रधानमन्त्रीले संसदीय अभ्यास र मर्यादालाई उपेक्षा गरेको आरोप लगाइन् ।

उनले भनिन्, ‘प्रधानमन्त्री पहिलो अधिवेशनमा नबोली जानुभयो, दोस्रो अधिवेशनमा आफ्नै नीति तथा कार्यक्रमको छलफल चलिरहँदा बीचमै उठेर हिँड्नुभयो । हामी सदनमा सुकुम्बासी र संवैधानिक परिषद्का कुरा उठाउँछौँ, तर प्रधानमन्त्री सामाजिक सञ्जालको पोस्टमार्फत जवाफ दिनुहुन्छ । यो संसदीय अभ्यासप्रति अनुत्तरदायी हुने एउटा प्रवृत्ति (प्याटर्न) नै बनेको छ ।’

उनले लोकतन्त्र केवल निर्वाचन जित्ने प्रणाली मात्र नभई निरन्तर संवादको अभ्यास भएको उल्लेख गर्दै वैदिक कालदेखि नै संवाद र सामूहिक निर्णयको परम्परा रहेको स्मरण गइन् ।

ओलीले प्रधानमन्त्रीको संसदमा न्यून उपस्थिति प्रति आलोचना गर्दै उनी संसदीय अभ्यासप्रति अनिच्छुक देखिएको दाबी गरिन् । संसदमा देशभरका प्रतिनिधिमूलक आवाजहरू रहने भएकाले प्रधानमन्त्रीको सहभागिता औपचारिकता मात्र नभई जनताप्रतिको जवाफदेहिताका लागि अनिवार्य रहेको उनको भनाइ थियो ।

उनले प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमा सीमित नभई सदनमै उपस्थित भएर जवाफदेही बन्न आग्रह गर्दै सभामुखमार्फत पनि ध्यानाकर्षण गराइन् ।