काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रधानमन्त्री बालेन्द्र शाहले संसद र संविधानको अवमूल्यन गरेको आरोप लगाएको छ ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा एमालेका प्रमुख सचेतक ऐन महर ले वर्तमान सरकारले लोकतान्त्रिक शासन प्रणालीभन्दा फरक अभ्यास गर्न खोजेको हो कि भन्ने गम्भीर प्रश्न उठेको बताएका छन् ।
उनले संविधानले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली सुनिश्चित गरेको स्मरण गराउँदै सरकारले सोही अनुसारको शासन प्रणाली अवलम्बन गरिरहेको हो वा कुनै वैकल्पिक ‘तन्त्र’ विकास गर्न खोजिरहेको हो भन्ने प्रश्न उठाए ।
सचेतक महरले प्रधानमन्त्री शाहले लोकतन्त्रभन्दा “बालेनतन्त्र” विकास गर्न खोजेको जस्तो देखिएको आरोपसमेत लगाए । उनका अनुसार प्रधानमन्त्रीले पटक–पटक संसदलाई उपेक्षा गरेको र संसदको गरिमा तथा मर्यादामाथि आघात पुर्याएको देखिएको छ ।
उनले भने, “संविधानले नेपालको शासकीय स्वरूप बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतान्त्रिक संसदीय शासन प्रणाली हुनेछ भनेको छ। अहिलेको सरकारले कुन शासन प्रणाली अवलम्बन गरिरहेको हो भन्ने प्रश्न उठेको छ। बजारमा प्रधानमन्त्रीले बालेनतन्त्र विकास गर्न खोज्नुभएको हो कि भन्ने चर्चा छ।”
उनले सरकारलाई सदन र संविधानप्रति जवाफदेही हुन आग्रह गर्दै प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर जनताका प्रश्नको उत्तर दिनुपर्नेमा जोड दिए ।